

काठमाडौं । नेपाल सरकारले आत्मसात गरेको सार्वजनिक, निजि र सहकारी सहितको तिनखम्बे अर्थनीतिभित्र पर्नेे सहकारी क्षेत्र अहिले संकटमा परेको छ । विशेषगरी बचतकर्ताको बचत फिर्ता गर्न नसक्दा बचत तथा ऋण केन्द्रित सहकारीहरुमाथि अनेकन् आशंका र प्रश्नहरु तेस्र्याइएका छन् ।यही अवस्थाका बीच विशुद्ध उत्पादनमा आधारित सहकारी तथा बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई भने यो संकटले खासै असर गरेको छैन । उत्पादनमा आधारित सहकारी भन्नाले सदस्यहरु सामुहिक रुपमा सामूहिक अभिवृद्धिको लागि कृषि उपज उत्पादन गर्ने वा व्यवसाय वा उद्यम सञ्चालन गर्ने भन्ने हो । जुन उत्पादनलाई विक्री गरी आर्जित रकम सदस्यहरुकै बीचमा लगानी हुन्छ ।
प्रदेश नम्वर १ अन्तर्गत संखुवासभा जिल्लाका कृषि प्रसार अधिकृतका रुपमा कार्यरत सन्तोष वि.क भन्छन्–‘प्रदेश नम्वर १का जिल्लाहरुमा रहेका कृषि तथा बहुउद्देश्यीय सहकारीहरुमा ‘बचत तथा ऋणमा आधारित सहकारीमा देखिएको जस्तो संकट छैन ।,यी सहकारीहरुले उत्पादित कृषि उपज भण्डारण गर्ने बिक्री वितरण गर्ने र जम्मा भएको रकम सदस्यहरुमाझ नै परिचालन गरिरहेको छ । सहकारीका पछिल्ला हल्लाहरुले ति सहकारीको उत्पादन परिमाण नबढेपनि सहकारीमा कुनै असर पुगेको छैन ।’
ग्रामिण भेगमा उत्पादनसँग जोडिएका जस्तै जडिबुटी उत्पादक सहकारी,तरकारी तथा फलफुल,सहकारी,चिया,कफी,दूग्ध,उखु उत्पादक सहकारी, कृषि बिउ पशुपन्छी मत्स्य पालन सहकारी लगायत प्रत्यक्ष कृषिसँग सम्वन्धित सहकारीहरु अहिले पनि बिना अवरोध सञ्चालनमा छन् । राष्ट्रिय सहकारी महासंघका अनुसार देशभरमा रहेका १८ सहकारी केन्द्रीय संघ मध्ये १२ वटा कृषिसँग सम्वन्धित छन् । जुन उत्पादनसँग जोडिएका छन् । झापाको नेपाल बहुउद्देश्यीय सहकारीलाई अहिलेको सहकारीमा निम्तिएको संकटका हल्लाले कुनै असर पुगेको छैन । बरु यसका उत्पादन दिनप्रतिदिन बढ्दो छ । यो सहकारीले आफ्नै १६ बिगाहा जमिनमा नर्सरीदेखि उन्नत जातका गाई पालन, माछा पालन, ३ वटा चिया उद्योग, दैनिक आफ्नै उत्पादनमा १५ हजार लिटर दूध संकलन गर्ने लगायतका उत्कृष्ट एकीकृत कृषि फर्म चलाएर उत्पादनमा योगदान दिइरहेको छ ।
नेपालभर करिव १हजार ७ सय दूग्ध सहकारीहरु छन् । जसको प्रमुख उद्देश्य दूध उत्पादन, संकलन गर्ने र विक्री वितरण गर्ने हो ।यी सहकारीहरुले दैनिक ११ लाख लिटर उत्पादन गरिरहेका छन् । त्यस्तै सहकारीद्वारा सञ्चालित धान उद्योग,तेल उद्योग, जुस उद्योगहरु पनि समस्या रहित ढंगले सञ्चालनमा छन् । कैलालीको लम्कीमा ७० हजार बढी सदस्यहरु आवद्ध किसान बहुउद्देश्यीय सहकारी संस्था झण्डै ५ अर्व बढीको वित्तीय कारोवार र अन्य उत्पादन उद्योग सहित आफ्नै गतीमा चलिरहेकोछ ।उसलाई सहकारीमा आएका समस्याका बाछिटाले छोएको छैन ।
नेपालको सहकारी नीतिले आर्थिक विकासको दीर्घकालीन लक्ष्य हासिल गर्नका लागि कृषि क्षेत्र लगायत अन्य उत्पादन तथा सेवामा आधारित सबै प्रकारका उत्पादनमूलक व्यवसायमा सहकारीलाई क्रियाशील तुल्याउने उद्दश्य समेटेको छ । सहकारी विभागका अनुसार देशभर झन्डै ३२ हजार सहकारी छन्। त्यसमध्ये १३ हजारभन्दा बढी कृषिजन्य क्षेत्रमा क्रियाशील छन्।सहकारीले सात खर्ब रकम परिचालन गर्दै आएकोमा कृषि क्षेत्रमा मात्रै डेढ खर्बभन्दा बढी छ। वास्तवमा सहकारी संगठनको त्यो रूप हो जसमा व्यक्तिहरू स्वेच्छाले आफ्ना हितको विषयहरूमा एकसाथ मिलेर कार्य गर्दछन् । खास गरी यो सीमित स्रोत र साधन भएका व्यक्तिहरूको एक सङ्गठन हो जो प्रजातान्त्रिक रूपमा नियन्त्रित हुन्छ र सदस्यहरूले साझा उद्देश्य प्राप्तिको लागि कार्य गर्दछ ।
समग्रमा समान इच्छा, आकांक्षा र अवस्था भएका व्यक्तिहरूबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त गरिने एकताबद्ध प्रयास नै सहकारी हो । यसरी सहकारी अन्तर निर्भरता हुँदै आत्मनिर्भरता तर्फको यात्रा हो भनिएपनि सहकारीका सञ्चालकहरु विचलित भएर जथाभावी बचत उठाउने र लगानी गर्ने नै सहकारी हो भन्ने अभ्यास अनुसरण गर्न खोज्दा अहिलेको अप्ठेरो अवस्था निम्तिएको पक्कै हो ।
‘उत्पादनमा आधारित सहकारीहरुमा समस्या छैन’
प्राथमिक वस्तुको उत्पादन र प्रशोधन कार्यमा संलग्न सहकारीको कारोबार कोभिडको समयदेखिनै एकनास ढंगले चलिरहेको छ । यसमा सहमत छन् सहकारीका जानकार एवं पूर्व सचिव गोपीनाथ मैनाली । उनी भन्छन्–‘उत्पादनमा आधारित सहकारीहरुमा समस्या खासै सुनिएको छैन । कृषि क्षेत्रसँग सम्वन्धित र बहुउद्देश्यीय सहकारीहरुले बस्तु उत्पादन गर्ने भण्डारण गर्ने बिक्री गर्नेमै केन्द्रित रह त्यसैले समस्या भएन ।,‘समस्या के मा आयो त भन्दा बचत तथा ऋण गर्ने सहकारीमै आयो,त्यसमा सदस्यहरुकोे आफ्नो लगानीको पोर्टफोलियो कहाँ मिलाउने भन्ने सही दृष्टिकोण नहुँदा सञ्चालक हाबी भए ।व्यक्ति केन्द्रित हुँदा अन्य सदस्यका कुराहरु सुनिएन यसले समस्या ल्यायो ।’
सहकारीलाई प्रवर्धन गर्ने भनेर सरकारले आर्थिक वर्ष ०६१/०६२को बजेटदेखि ‘गाउँगाउँमा सहकारी घरघरमा भकारी’भन्ने नारा अघि सार्यो । तर अधिकांश सहकारीका सञ्चालकहरुले कर, आफुले पाउने सहुलियत र छुटका कुरामा लबिङ गरिरहे तर सरकारले अघि सारेको उत्पादनको नीतिलाई भने बाइपास गर्दै गए ।
सचिव मैनाली भन्छन्–‘अहिलेको यो संकटबाट पाठ सिकेर बचत ऋणको कारोवार गरिरहेका सहकारीहरुले पनि व्यवसायीक योजना अघि सार्दै व्यवसायी उद्यमी बन्न प्रेरित हुनपर्छ ।, यो मामिलामा सदस्यको कति र संस्थाको कति हिस्सा हुने भनेर रोड म्याप तयार गर्नुपर्छ र यसरी योजनावद्ध हिँड्ने र गएका सहकारीहरुलाई सरकारले पनि पहिचान गरेर सहुलियत थप छुट दिन पर्दछ ।‘ त्यसो भए सहकारीले विश्वास आर्जन गर्न थालेपछि सहकारीले गर्ने अर्थतन्त्रमा वास्तवमा सहकारीलाई उतपादनशील बनाउने तर स्वामित्व सदस्यहरुमा हुने भन्ने नै हो ।’ घोषित नीतिहरु कति कार्यान्वयन भयो भनेर नियमन खाका पनि आवश्यक रहेको घोषित नीतिहरुले कति काम गर्यो भनेर सहकारीले बनाए ठिक नबनाए सहकारी बार्ड मार्फत नियमन बलियो बनाउन पर्यो । ‘उत्पादनशील क्षेत्रमा गएको सहकारीलाई सरकारले ब्राण्डिङ गरिदिनुपर्छ ।’ यसो हुन सके रोजगारी बढ्नुका साथै आयात प्रतिस्थापन भई अर्थतन्त्रलाई ठूलो टेवा पुग्ने मैनालीको भनाई छ ।
विश्वका विभिन्न मुलुकहरुलाई विकसित राष्ट्रमा स्तरोन्नति गर्न सहकारीको महत्वपूर्ण भूमिका छ । संसारका ३ सय सहकारीले गरेको उत्पादन, व्यवसाय र कारोबार लोभलाग्दो छ ।जापान, स्विडेन,चीन,दक्षिण कोरीया,क्यानडा लगायतका मुलुकका सहकारीको उत्पादन ती देशका कूल उत्पादनको दुई तिहाई रहेको देखिन्छ ।नेपालमा पनि सहकारीका शेयर सदस्यहरुमा रहेको सीप, क्षमता र दक्षतामा आधारित उद्योग व्यवसायको प्रवद्र्धन गर्न सकेको खण्डमा निजी पूँजीमा अन्तरनिहीत अतिरिक्त लाभको सिद्धान्तमा आधारित श्रमको शोषण अन्त्य हुने र अर्कोतर्फ सहकारीका माध्यमबाट मात्र सोचेअनुरुप न्यून लागतमा उत्पादन सम्भव हुने देखिन्छ ।
नेपाल बहुउद्देश्यीय केन्द्रीय संघका सचिव माधव प्रसाद तिमल्सिना पनि उत्पादनमा केन्द्रित सहकारीमा विशेषगरी ग्रामिण भेगका सहकारीमा कुनै समस्या नदेखिएको बताउँछन् । सहकारीले शेयरपुँजी र कोषको रकमलाई उत्पादनमा लगाउने कुरामा विशेष ध्यान दिनुपर्ने उनको तर्क छ ।
उनका अनुसार बजार हल्ला र नियतवश गलत गर्ने सहकारी सञ्चालकका कारण सबै सहकारीमा गलत सन्देश पुगेको हो । उनी भन्छन्–‘सहकारी भन्ने वित्तीकै केही न केही आर्थिक क्रियाकलाप त भै नै हाल्छ कुनैमा थोरै होला कुनैमा धेरै । ’कतिपय सहकारीका ऋण नपाएका सदस्यहरुले फैलाएको नकारात्मक हल्लाले पनि सहकारीमाथि अविश्वास बढाएको छ ।अहिले अधिकांश सहकारीमा लगानी भएको ऋण नउठ्दा समस्या देखिएको हो ।’

रुपा घिमिरे