काठमाडाैं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा जिल्ला अदालतको आदेशमा कारागार चलान भएका १६ अभियुक्तलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको छ । जहाँ दुईवटा छुट्टाछुट्टै ब्लकमा आठ–आठजना राखिएको कारागार प्रशासनले जनाएको छ ।
नेताद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाणलाई एउटै ब्लकमा राखिएको छ । उनीहरूलाई भद्र बन्दीगृहमा राखिएको केन्द्रीय कारागारका जेलर ललितकुमार बस्नेतले बताए । टोपबहादुरका छोरा सन्दीप पनि सोही ब्लकमा छन् । रायमाझी बाउ–छोराले आफूहरूलाई एउटै कोठामा राखिदिन आग्रह गरेका थिए । तर, कारागार प्रशासनले त्यो सम्भव नभएको भन्दै सँगै राख्न मानेन ।
त्यस्तै, खाणका सहयोगी नरेन्द्र केसी, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा र बिचौलियाद्वय रामशरण केसी र गोविन्द चौधरीलाई भद्र बन्दीगृहमा राखिएको छ । भद्र बन्दीगृहमा करिब एक हजार एक सय कैदी–बन्दी छन् ।
त्यस्तै, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, हरिभक्त महर्जन र सागर थुलुङ राईलाई केन्द्रीय कारागारको ब्लकमा राखिएको छ । केन्द्रीय कारागारको ब्लकमा करिब दुई हजार कैदी–बन्दी छन् । दुवै ब्लकमा छुट्टाछुट्टै चौकीदार छन् । यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
अर्थ सन्जाल