

सुदूरपश्चिमको एक पहाडी जिल्ला अछाम, भौगोलिक हिसाबले अति विकट रहेको छ । भौगोलिक रुपमा पिछडिएको अछामको ढकारी गाउँपालिकामा मेरो घर छ । प्रकृति सम्पदाले हराभरा तर विकासका गन्धसमेत पुग्न नसक्ने विकट क्षेत्रमा जन्मिएको म, अनि मसँगै हुर्किएका मेरा अनगिन्ती सपना ! जो बाध्यता र रहरबीच हुर्किरहेका थिए । अनेकौं अभावले गुज्रिएको मेरो बालापन । अनि बढ्दो उमेरसँगै थपिँदै गएको संघर्ष र चुनौती । ती दिन सम्झदा आज पनि कहाली लाग्छ । मान्छेले जस्तोसुकै कठिन परिस्थितिको पनि सामना गर्नुपर्ने रहेछ ।
समय बित्दै गयो । म पनि हुर्किदै गएँ । मैले मेरो स्कुल तहको पढाई पूरा गरें । माध्यमिक तह अर्थात् कक्षा १० को पढाई मैले मेरो गाउँपालिकाको वडा-१ स्थित गुरुकुल मा.विमा पूरा गरें । तर उच्च शिक्षाको लागि भने पायक पर्ने ठाउँ थिएन । त्यसैले, उच्च शिक्षाको लागि कि त काठमाडौं धाउनुपर्थ्यो, कि घरबाट टाढा पुग्नुपर्थ्यो । मैले भने सदरमुकाम मंगलसेन बसेर पढ्ने निधो गरे ।
सोही निर्णय अनुसार म घर छाडेर मंगलसेन पुगेँ । मेरो गाउँबाट सदरमुकाममा पुग्न पुरै एक दिन (हिडेर) लाग्छ । घरबाट टाढा भएपछि एकपछि अर्को गरी संघर्षका चाङ थपिने रहेछ । घरि खर्चको अभाव त, घरि अनेक समस्या । सामान्य परिवारमा जन्मेको म, बुवाआमाले दुख गरेर भएपनि जेनतेन पढाई खर्च जुटाउनुहुन्थ्यो । तर सबै भने जुटाउन उहाँहरुलाई हम्मेहम्मे पर्थ्यो ।
त्यसैले मैले सानोतिनो काम गर्दै पढ्ने निर्णय गरे । तर हामीलाई कसले पत्याउने काम पाउनै मुस्किल पर्थ्यो । बिहानको पढाई र दिउँसोमा काम त्यति सजिलो थिएन पनि । तर काम पाए त अभाव टार्न सजिलो हुथ्यो भन्नेमा थिए ।
कलेजसँगै कामलाई अघि बढाउने रहर पूरा गर्न म कामको खोजीमा हिड्न थालेँ । सपना देखे न पूरा हुन्छ, संघर्ष गरे न प्रतिफल पाइन्छ । मैले गरेको संघर्षले पनि प्रतिफल पायो । मैले पत्रिकाको मार्केटिङ गर्ने जागिर पाएँ ।
अब त आफैं जागिरे भएँ भनेर मन फुरुङ्ग भ । कमाइ धेरै त थिएन तरपनि थोरै भएपनि बचत गर्नुपर्छ भन्ने लागेर मैले बैंक खाता खोल्ने निर्णय गरें । पहिलो तलब आउने बित्तिकै म आफु बस्ने नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न पुगेँ ।
म पहिलो पटक बैंकमा गएको थिएँ । कागजसँग पैसा साटेको देखेर म दंग परेको थिएँ ! बैंकमा कागज दियर कसरी काम गरिन्छ भन्ने थाहा थिएन। खाता खोल्न के के गर्नुपर्छ ? के-के चाहिन्छ ? यो समेत मलाई थाहा थिएन । पहिलोपटक त्यो देख्ने बुझ्ने अवसर मिल्यो ।
पुसकाे महिना थियो । कठ्याङ्ग्रिने जाडो । बाहिर धेरै चिसो थियो । तर बैंकभित्र छिर्ने बित्तिकै तातो अनि न्यानो महसुस भयो । सधै त्यहिँ बसिरहुँ जस्तो । बैंक त गएँ तर खाता खोल्न के गर्नुपर्छ थाहा थिएन । म अलमलमा परें । अरुले कसरी गर्ने रहेछन भनेर निकैबेर हेरिरहे । र पनि अलमलमा परें । म अलमलमा परेको देखेपछी सेक्युरिटी गार्डले सोधे, के भयो भाइ ? के गर्न आएको ? मैले भने, बैंक खाता खोल्न आएको । उनले एउटा फारम देखाउँदै भने, नागरिकता र फोटो ल्याउनु भएको छ ? मैले भने , ल्याएको छु ।
साइडमा रहेको फारम राखेको ठाउँ देखाउँदै ती दाइले भने, त्यसो उ त्यो फारम भर्नुस् । मैले एउटा फारम लिएँ । त्यहाँ आफ्नो सबै विवरण खुलाउनु पर्ने रहेछ । मैले आफूले जानेको जति विवरण भरेर रिसेप्सन काउन्टरमा बुझाएँ । तर त्यहाँ त आफू बस्ने ठाउँको म्यापदेखि लिएर धेरै विवरण भर्नै छुटेछ । मलाई रिसेप्सनमा बस्ने एउटी दिदीले सहयोग गर्नुभयो । उनकै सहायताले मैले पुरै फारम भरें ।
फारम त भरियो । तर आफैंले खाता खोल्न १८ वर्ष पुग्नुपर्ने रहेछ । १८ वर्षभन्दा कम उमेरकाले अभिभावक (नोमिनी) को उपस्थिति बिना खाता खोल्न नमिल्ने रहेछ । म भर्खर १६ वर्षको थिएँ ।
कस्टुमर सर्भिसकी दिदीले अहिले खाता खोल्न नमिल्ने बताइन् । खाता खोल्नाकै लागि घरदेखि कोही आउन सक्ने अवस्था पनि थिएन । अब मैले बैंक खाता खोल्नको लागि डेढ वर्ष कुर्नुपर्ने भयो । महिनाको हिसाब गर्दा पनि डेढ वर्ष कुर्नुपर्ने थियो । मैले डेढ वर्ष होल्ड गर्ने निर्णय गरे ।
धेरै कुराको अनुभव बटुलेर म बैंकबाट निस्किएँ । फेरि उहीँ कठ्याङ्ग्रिने चिसो । तन बाहिर निस्किए नि मन भने बैंककै एसीमा थियो । तातो अनि न्यानो ! मैले २ वर्षपछि नै खाता खोल्ने निधो गरेर त्यसपछि आफ्नै काममा फर्किए ।
समय बित्दै गयो । म पनि १८ वर्ष लागे । बैंकमा खाता खोलेर थोरतिनो पैसा जम्मा गर्ने रहर सेलाएको थिएन । डेढ वर्षपछि म खाता खोल्नको लागि नेपाल इन्भेष्टमेण्ट बैंक पुगेँ । त्यहाँ गएर खोल्नको लागि फारम भरें ।
त्यहाँ आफूलाई के-के सर्भिस चाहिने हो सबै खुलाउनु पर्ने रहेछ । पहिलोपटक खाता खोल्न लागेको मलाई त्यो थाहा थिएन । तपाईंलाई एटिएम कार्ड, चेकबुक, मोबाइल बैंकिङ सर्भिस चाहिँदैन ? भनेर कस्टुमर सर्भिसकी दिदीले सोधिन् । मैले अलिक अकमकाउँदै भने – यो के हो र ? के काम लाग्छ ? ती दिदीले हाँस्दै भनिन्, पहिलोपल्ट हो खाता खोलेको ? म – हो ! उनले भनिन्,- यो भनेको बैंकिङ सर्भिस हो । यो सुविधा भयो भने तपाईले कारोबार गर्न बैंक नै धाइराख्नु पर्दैन । म- हुन्छ त्यसो भए सबै चाहिन्छ । अनि मैले यी सबैमा ठिक लगाए ।
सबै प्रक्रिया पूरा भएपछि कस्टुमर सर्भिसमा मैले उक्त फारम बुझाएँ । फारम बुझाउने बित्तिकै खाता नम्बर उपलब्ध नहुने रहेछ । कस्टुमर सर्भिसले खाता नम्बर केही दिनमा मेरो इमेलमा आउने जानकारी गरायो ।
केही दिनपछि मेरो इमेलमा बैंकको खाता नम्बर आयो । त्यसपछि मैले मेरो कारोबार बैंकिङ प्रणालीबाट नै गर्न थालेँ । त्यतिबेला बैंक खाता खोल्न बैंक नै धाउनुपर्ने बाध्यता थियो । तर अहिले अवस्था परिवर्तन भएको छ । प्रविधिले मान्छेलाई अनेकौं सुविधा दिएको छ । घरमै बसेर पनि बैंक खाता खोल्न सकिन्छ ।
बैंकहरुले अनलाइन सुविधालाई प्राथमिकता राखेर ग्राहकलाई सजिलो बनाइदिएक छन् ।
बैंक खातामा रकम राख्नु पर्दा बैंकमा गएर भौचर भरेर वा डिजिटल माध्यमबाट घरमै बसेर पनि रकम जम्मा गर्न र पठाउन सकिन्छ । यसरी जम्मा गरिएको रकम कसैलाई भुक्तानी दिनु परे चेक मार्फत वा डिजिटल माध्यमबाट दिन सकिन्छ भने आफैले निकाल्नु पर्दा बैंकमा गएर वा एटिएमबाट निकाल्न सकिन्छ । चेक बुकबाट चेक काटेर आफ्नो खातामा जम्मा भएको मध्येबाट आफूलाई आवश्यक परे जति रकम नगदै झिक्न सकिने पनि सकिन्छ ।
व्यक्ति वा संस्थाले बैंकबाट कारोबार गर्नका लागि दर्ता गरिने विवरण नै बैंक खाता रहेछ । व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंकहरुमा बचत र चल्ती खाता खोल्न सकिने रहेछ ।
यसरी खोलिएका खातबाट आफ्नो अनुकूलमा रकम राख्न वा झिक्न सजिलो हुने रहेछ । पहिला पहिला बैंक खाता खाेल्न बैंक मै पुग्नु पर्थ्याे भन्ने अहिले सम्बन्धीत बैंकको वेबसाइटमा गएर अनलाइनबाटै खाता खोल्न मिल्ने पनि सेवा सुबिधा रहेको छ ।
समयसँगै अहिले मलाई बैंक धाउनु परेको छैन । हातमा माेबाइल छदैछ । टेक्निकलकाे जमानामा बैंक किन धाउनु पर्याे र ? अहिले उच्च शिक्षा अनि काम सिलसिलामा देशकाे संघीय राजधानी काठमाडौंमा छु । काठमाडौंबाट घर वा साथीहरुलाई पैसा पठाउनकाे लागि बैंकमा धाउनु परेको छैनन्, हातमा माेबाईल अनि बैंक खातामा बचत छदैछ भने धेरै समय पनि लाग्दैन । एक छिन मै साथीभाइको खातामा वा घर पठाउन समेत सजिलो भएको छ ।
समय परिवर्तन भएको छ । अनि समयसँगै म पनि । अभाव अनि अज्ञानले मान्छेलाई झन् पोख्त बन्न प्रेरित गर्ने रहेछ । अहिले म प्रत्येक बैंकिङ कारोबार गर्दा त्यो पहिलो खाता खोल्दाको अनुभव सम्झन्छु ।

खकेन्द्र बहादुर बुढा