काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले भ्रमणले दुई देशबीच आपसी विश्वास बढाउन तथा आर्थिक विकासलाई केन्द्रमा राख्न सफल भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भेटवार्ता महत्वपूर्ण रहेको उल्लेख गर्दै भ्रमण विशेष गरी विद्युत् व्यापार, कृषि, सुक्खा बन्दरगाह, पारवहनलगायतका विषयमा केन्द्रित रहेको जानकारी दिए । उनले भ्रमणका क्रममा भारतसँग अतिरिक्त हवाई प्रवेश विन्दुको अनुमतिका विषयमा समेत महत्वपूर्ण र सकारात्मक छलफल अगाडि बढेको जानकारी बताए । उनले जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने सन्दर्भमा पनि उत्तिकै गम्भीर छलफल एवम् सहमति भएको भनाइ राखे ।
“भारतीय भूमि हुँदै बङ्गलादेशसँग बिजुली व्यापारका लागि सहमति भएको छ । भारतीय प्रधानमन्त्रीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने बताउनुभएको छ”, प्रधानमन्त्री प्रचण्डले भने । यसले माथिल्लो तामाकोशी जलविद्यत्लगायतका आयोजनाबाट उत्पादित बिजुली निर्यात हुने वातावरण बनेको जानकारी दिए ।
जलविद्युत्को बजार सुनिश्चित भएको र त्यसले मुलुकको ऊर्जा क्षेत्रमा थप लगानीका लागि मार्ग प्रशस्त भएको, पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तीन महिनाभित्र पूरा गर्ने र एक वर्षभित्र कार्यान्वयनको ढाँचा तय गर्ने सहमति भएको प्रधानमन्त्रीको भनाइ छ ।
टनकपुरमा पानी उपलब्ध गराउने र सीमावर्ती क्षेत्रमा हुँदै आएको बाढी तथा डुबान नियन्त्रणका लागि दुवै देशका प्रधानमन्त्रीले निर्देशन दिएकोसमेत प्रधानमन्त्रीले जानकारी दिए । साथै झुलाघाट, पूर्णागिरीलगायतका क्षेत्रमा मोटरेबल तथा झोलुङ्गे पुल निर्माणका विषयमा पनि भारतीय पक्षसँग छलफल भएको उनको भनाइ छ ।
कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण छलफल भएको जानकारी दिँदै प्रधानन्त्रीले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि पनि सकारात्मक वातावरण बनेको उल्लेख गरे । व्यापार सहजीकरण, व्यापार घाटा कम गर्ने, जुटमा लाग्दै आएको थप महसुल हटाउने विषयमा पनि भ्रमणका अवधिमा छलफल भएको उनको भनाइ छ । नेपाल र भारतबीच रहेको सीमा समस्या समाधान गर्ने विषयमा भारतीय प्रधानमन्त्री मोदीले पनि संयुक्त पत्रकार सम्मेलनमा नै प्रतिबद्धता व्यक्त गर्नुभएको सदनलाई जानकारी दिए ।
निर्माणाधीन रेलमार्गलाई गति दिने र निर्माण सम्पन्न भएका आयोजनालाई शीघ्र सञ्चालनमा ल्याउने विषयमा दुई देशबीच सहमति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विराटनगर कार्गो रेल सेवामार्फत जोडिएको बताए ।
यसैगरी न्यू बुटवल गोरखपुर चार सय केभी प्रसारण लाइन निर्माणका लागि भ्रमणका क्रममा नै शिलान्याश भएको प्रधानमन्त्रीले उल्लेख गरे । भ्रमणका क्रममा विभिन्न सात विषयमा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको जानकारी दिँदै प्रधानमन्त्रीले व्यापार तथा पारवहन सन्धिमा हस्ताक्षर भएको, त्यसमा केही दुरगामी महत्वका प्रावधान समावेश गरिएको बताए ।
त्यसबाट ब्लक कार्गो ढुवानी गर्ने सहमति भएको, भारतीय विभिन्न जलमार्गको प्रयोग गर्न सक्ने वातावरण बनेको उनको भनाइ छ । दोधरा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण हुने वातावरण बनेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा निर्माण हुने विशेष आर्थिक क्षेत्रको सञ्चालन, औद्योगिक वातावरण बनाउन सहज हुने विषयमा छलफल भएको जानकारी दिए ।
फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणमा भारतीय कम्पनीसँग संयुक्त उपक्रम निर्माण गरी अगाडि बढाउने, कूल छ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका सन्दर्भमा पनि भ्रमणका क्रममा आवश्यक सहमति भएको प्रधानमन्त्रीको भनाइ छ । त्यस्तै, दुई देशबीच सहजरुपमा अन्तरदेशीय विद्युतीय भुक्तानीका विषयमा पनि सम्झौता भएको उहाँले जानकार दिए ।
प्रधानमन्त्रीले भ्रमणका क्रममा आफूले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएकोसमेत बताए । भ्रमणले नेपाल र भारतबीच विश्वासको वातावरण बनाएको र आगामी दिनमा त्यसको परिणाम देखिने उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमण गरेको थियो ।






