काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट निर्माण आधिकारिक व्यक्तिबाट पारदर्शी ढंगले भएको बताएका छन् । संघीय संसदको प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश, करका दर हेरफेर भएको भन्ने विषयमा कसैले शंका गर्नु नपर्ने बताएका हुन् ।
‘बजेट निर्माणदेखि करका दरहरु हेरफेरमा आधिकारिक प्रतिनिधिहरुबाट स्वतन्त्रपूर्वक निर्णय भएको छ ’उनले भने । सञ्चारमाध्यममा आएका कुराहरुलाई विश्वास नगर्न र सरकारका गतिविधिलाई विश्वास गर्न उनले आग्रह गरे ।
उनले भने, ‘निश्चित कसैले फाइदा उठाइरहेका थिए । फाइदा उठाउन नपाएर तिनीहरु रिसाएका हुन सक्छन् । तर मैले समग्रमा ओभरअल इकनमीलाई केन्द्रविन्दुमा राखेर कसैलाई फाइदा डेलिब्रेट्ली पुर्याउने, कसैलाई बेफाइदा डेलिब्रेट्ली पुर्याउने कहीँ कतै मैले गरेको छैन ।’ उनले इमान्दारिताका साथ काम गर्दा पनि हिलो छ्याप्ने काम भएको बताए ।
उनले इच्छा पूरा गर्न नसक्दा केहीले नियोजित रुपमा पनि लेखिरहेका बताए । उनले भने, ‘मैले कसैको इच्छा पूर्ति गर्न सकिन । केहीले नियोजित रुपमा पनि लेखिरहेका छन् । तर समग्रमा उद्योग, व्यवसायलाई राम्रो हुने काम मैले गरेको छु । यती गर्दा पनि हिलो छ्यापिन्छ भने यो देशमा ईमान्दार मान्छेहरुले छाड्दिए हुन्छ, इमान्दार मान्छेहरु आवश्यक छैन भनेर घोषणा गरिदिए हुन्छ ।’
अर्थ सन्जाल