


काठमाडाैं । प्रमुख प्रतपक्षी दल नेकपा एमालेले फेरि पनि बजेट निर्माणमा राजश्वमारा ‘मुसा’ प्रवेश गरेकाे टिप्पणी गरेकाे छ । एमाले महासचिव शंकर पाेखरेलले अनधिकृत व्यक्तिकाे संलग्नतामा करकाे दर हेरफेर गरिएकाे विषय बाहिरिएपछि यस्ताे टिप्पणी गरेका हुन् ।
सामाजिक संजालमा महासचिव पाेखरेलले भनेका छन्, ‘करका दर निर्धारण गर्न पूर्व कर्मचारी वा व्यापारिक घरनाका प्रतिनिधि नै खुलेआम रुपमा राख्न थालेपछि अर्थतन्त्र संकटमा पर्यो भनेर रोइलो गर्नुको के अर्थ रह्यो र ?’
दुबै छिमेकी मुलुक भारत र चीनकाे अर्थतन्त्र सकारात्मक रहेकाे अवस्थामा यस्तै घटनाका कारण नेपाल भने आर्थिक मन्दीमा गएकाे महासिचव पाेखरेलकाे ठहर छ । विगतकाे घट्नाबाट पाठ सिक्नुपर्नेमा अझ प्रधानमन्त्रीकै निर्देशनमा पुन: साेही घट्ना दाेहाेरिएकाे समाचार आउनु दुखद भएकाे उनकाे भनाइ छ ।
उनले भनेका छन्,’विगतमा कर निर्धारणमा आवान्छित व्यक्तिको संलग्नताकै कारणले दुवै छिमेकीको अर्थतन्त्र सकारात्मक रहेको अवस्थामा नेपाल आर्थिक मन्दीमा गयो । मुलकको राजश्वनै घट्न गएको समयमा निश्चित व्यापारिक घरनाको सम्पत्ति एक वर्षमा झण्डै आधा खर्वको हाराहारीमा वृद्धि हुन पुग्यो । यसवाट पाठ सिके होलान् भनेको त यसपालि त झन प्रधानमन्त्रीकै निर्देशनमा आवान्छित व्यक्तिलाई संलग्न गराइ राजश्वका दर निर्धारण गरिएको जानकारी आउनु अत्यन्त दुखद पक्ष हो ।’
यस पटक बजेट निर्माणको गोप्य सुचना चुहाइएको र पूर्वयोजना अनुरुप सेटिङ गरिएकाले राज्यले गाडीको आयातमा मात्र अर्बाैं राजश्व गुमाएको महासचिव पाेखरेलले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘बजेट भाषणको पूर्वसन्ध्यामा भंसारवाट अस्वभाविक रुपमा आयात गरिएका सामानहरु सेटिङका परिणामहरु हुन् । अघि पछि एकदिनमा कति सामान आउँथ्यो र बजेटको पूर्वसन्ध्यामा किन अस्वभाविक सामान आयो यसको छानविन हुनु आवश्यक छ । संसदले अस्वभाविक रुपमा आयात भएका वस्तुको कर पुरानै अवस्थामा फर्काउन सक्नु पर्दछ ।’
यस पटककाे बजेटमा आमजनताकाे भान्सालाई महंगाे बनाउने र सभ्रान्तहरुले प्रयाेग गर्ने विलासिताका व्तुहरुमा कर छुट दिने गलत काम भएकाे महासचिव पाेखरेलकाे टिप्पणी छ । कर निर्धारणको सिद्धान्तका हिसाबले यो पूर्णतः गलत रहेकाे उनले बताएका छन् । उनले भनेका छन्, ‘माननीय सांसदज्यूहरुले यस प्रकारको नियोजित अपराधका लागि सरकारलाई संसदीय कठघरामा उभ्याउनु, गम्भीर ढंगले छानविन गर्नु र अपराध गर्नेलाई दण्डित गर्नु पर्दछ ।’

अर्थ सन्जाल