काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले विशेष साधारणसभा आउँदा असार ८ गते आयोजना गर्ने निर्णय गरेको हो ।
विशेष साधारणसभाले कम्पनीले चुक्तापुँजीको १:०.५ अनुपात अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले यही जेठ ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, जेठ ३१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कमपनीको विशेष साधारणसभा भाग लिन पाउनेछन्।
विद्युत नियमन आयोगले रिडी पावरलाई हकप्रद जारी गर्ने एजेन्डा साधारणसभाबाट पेस गरी अनुमोदन गर्न गत वैशाखको पहिलो साता सहमति प्रदान गरेको थियो ।
कम्पनीको गत माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को ४० प्रतिशत बोनस सेयर वितरण भएपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत अर्थात १:०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो ।
त्यसैले, कम्पनीले बोनस सेयर वितरणपश्चात कायम हुने १ करोड ५४ लाख ८९ हजार १२ कित्ताको ५० प्रतिशतले हुन आउने ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रसद आफ्ना सेयरधनीहरुका लागि जारी गर्ने निर्णय गरेको छ ।






