काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो संसदबाट पारित भएर राष्ट्रपति कार्यालयमा प्रमाणीकरण नभई बसेको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि मन्त्रिपरिषद्ले सिफारिस नगरी अनुरोध मात्र गरेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संसदबाट पारित भइरहेको विधेयक प्रमाणीकरण गर्न मन्त्रिपरिषद्ले सिफारिस गर्न नसक्ने तर त्यो विधेयक प्रमाणीकरण हुन बाँकी छ भनेर देखाउने काम गरेको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले संसद्बाट दुई पटक पारित भएको विधेयक फेरि ल्याउन सम्भव नभएकाले प्रमाणीकरणको प्रक्रियामा गएको बताए । उनले संसदको दुबै सदनले दुई पटक पास गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्दा पनि हुने नजीर बसे भोलि के हुन्छ भन्ने पनि प्रश्न गरे ।
उनले भने–‘यक संसद्मा प्रस्तुत गर्यो र पारित भएपछि राष्ट्रपतिले रोक्दै जाने हो संविधानको के अवस्था हुन्छ ?’






