


काठमाडौं । नेशनल लाइफ इनस्योरेन्स कम्पनीको ३५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १४.५ प्रतिशत लाभांश पारित गरेको छ ।
कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा आज (जेठ २२ गते) सम्पन्न सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो।
नियामक निकायले जीवन बीमा कम्पनीको चुक्तापुँजी रु.५ अरब पुर्याउनुपर्ने बाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्तापुँजी रु.४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ मा ८ प्रतिशतको बोनस सेयर थप भई कुल चुक्तापुँजी रु.५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ पुगेको र र तोकिएको चुक्तापुँजी सहज रुपमा पूरा भएको कम्पनीले जनाएको छ।
आ.व.२०७८–७९ मा कम्पनीको सबै वित्तीय सूचकांकहरु उत्साहप्रद रहेको छ। कम्पनीको कुल बीमाशुल्क १५ प्रतिशतले वृद्धि भई रु.१४४०.७६ करोड पुगेको छ। जीवन बीमा कोष २०.८४ प्रतिशतले वृद्धि भई रु. ५०८०.४२ करोड पुगेको छ। कुल लगानी १९.८५ प्रतिशतले वृद्धि भई रु.४७०३.९२ करोड पुगेको छ।
कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत रहेको सभामा जानकारी दिइयो। कम्पनीको वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०७८–०७९ मा सो दर ९.९० प्रतिशत कायम रहेको छ।
नियामक निकायवाट जारी भएको लगानी निर्देशिकाअनुरुप कम्पनी आफ्नो लगानी विविधिकरण गर्ने प्रक्रियामा छ। विशेषगरी घर–जग्गा ब्यवसाय र जलविद्युत्मा लगानी बढाउनतर्फ कम्पनीले प्रयास गर्ने जनाइएको छ।
यस्तै एउटा सहायक लगानी कम्पनी स्थापना गर्नेतर्फ पनि आ.व.२०७९–८० मा प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।
कम्पनीको नेपालगंज स्थत आफ्नो स्वामित्वमा रहेको जग्गामा आ.व.२०८०–८१ भित्र भवन निर्माण सम्पन्न हुने गरी कार्य अगाडि बढाइएको छ। यसबाट सो क्षेत्रमा कम्पनीको ब्यवसाय प्रवर्द्धन गर्न सहज हुनेछ। कम्पनीको अन्य शाखाहरुमा पनि क्रमशः यो प्रक्रियाा सुरु गरिने कम्पनीले जनाएको छ।
कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ। यसैगरी कम्पनीको आ.व.२०७८–७९ को बीमांकीय मूल्यांकन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशन नुसार पर्याप्त फ्युचर बोनस प्रोभिजननिङ गरेर बीमितहरुलाई दिई आएको वोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको कम्पनीको दाबी छ।
कम्पनीले ब्यावसायिक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्वबीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशनअनुसार खुद नाफाको १ प्रतिशतले रु. ७३ लाख ९२ हजार ८९१ बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गर्न सफल भएको छ।
सभामा अध्यक्ष सिंहले आउने दिनहरुमा नेशनल लाइफ इन्स्योरेन्स एक मुख्य बीमकका रुपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ति गर्नमा अग्रणी भूमिका निर्वाह गरिरहने विश्वास व्यक्त गरिन्।

अर्थ सन्जाल