


काठमाडौं । नेपालले मलेसियाविरुद्धको पाँच खेलको सिरिजअन्तर्गत चौथो खेलमा ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पाहुना टोली नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको हो ।
पाहुना टोली नेपालका लागि इन्दु बर्माले ३१ बलमा ३ चौकाको सहयोगमा ३२ रन बनाईन् । बिन्दु रावलले २६ बलमा २४ रन बनाउँदा कविता १२ रनमा अविजित रहिन् । यी बाहेक अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
घरेलु टोलीका लागि विनिफ्रेड दुराईसिंघमले ३ तथा एसा इलिसा र महिराह इज्जाती इस्माइलले समान १–१ विकेट लिए। पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल २–१ को अग्रतामा छ । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो ।
दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गरेको थियो । नेपाल लगातार तेस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ । उता, मलेसियालाई सिरिज जित्ने सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ । मलेसियासँग २१ गते नेपालले पाँचौं तथा अन्तिम खेल खेल्नेछ ।

अर्थ सन्जाल