

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दुई जनाको बयान सकिएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतमा दुई जनाको बयान सकिएको हो ।
जिल्ला अदालत काठमाडौँका जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सागर राई र केशव प्रसाद दुलालको बयान सकिएको छ । उनीहरू भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए । सो प्रकरणमा अहिलेसम्म १७ जना पक्राउ परेका छन् ।
यो प्रकरणमा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू पक्राउ परेका छन् । उनीहरुले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रुपैयाँभन्दा बढी पैसा नागरिकहरुसँग उठाएको आरोप छ ।
उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

अर्थ सन्जाल