नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले कम्तीमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई बुझाएको अनुसन्धान प्रतिवेदनमा भनेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले ३२ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको भएपनि हालसम्म १६ जनामात्रै पक्राउ परेका छन् ।
प्रहरीले बुझाएको प्रतिवेदन अध्ययनपछि सरकारी वकिलको कार्यालयले बुधबारसम्ममा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्नेछ । नक्कली शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र कांग्रेसका पूर्व सभासद आङ्टावा शेर्पा समेत पक्राउ परेका छन् ।
यो प्रकरणमा सबैभन्दा पहिला २०७९ चैत १२ मा केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारी पक्राउ परेका थिए । यस्तै चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए । यस्तै पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन् । पछिल्लो समय प्रहरीले भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि पक्राउ गरेको थियो ।
अन्य १६ जना भने अझै फरारकै अवस्थामा छन् । फरारको सूचीमा प्रतीक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, निरज राई, दीपा हुमागाई रहेका छन् । यस्तै राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता लिम्बु, निरञ्जनकुमार खरेल र सुनिल बुढाथोकी, गोकुल थापा र रमा थापा पनि फरार सूचीमा छन् ।
अर्थ सन्जाल