आईसीसी विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा गरेको हो ।
जिम्बावेमा असार ३ देखि २४ गतेसम्म हुने छनोटका लागि नेपालले २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । नेपाली टोलीले मंगलबारबाट टिमको तयारी सुरु गर्नेछ ।
प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिस जीसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम(मौसम) ढकाल र अविनाश बोहरा रहेका छन् ।
नेपालले गत चैत २ गते कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई हराउँदै एकदिवसीय विश्वकपको छनोटमा छनोट भएको हो । विश्वकप छनोटमा नेपालसहित स्कटल्यान्ड, ओमान, यूएई, अमेरिका, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्यान्ड्स र आयरल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।
अर्थ सन्जाल