


काठमाडौं । दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनाको लगानी जुटेको छ ।
निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको छ ।
जनताको जलविद्युत कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्बसाधारणलाईसमेत सेयर निष्कासन गरी स्वपुँजी (इक्विटी)बाट जुटाइने छ । आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आइतबार नेपाल विद्युत् प्राधिकरण, आयोजनाको प्रवर्द्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सबैका लागि, समृद्धिका लागि र स्वच्छ वातावरणका लागि हरित ऊर्जा नेपालको सम्भावना र आवश्यकता रहेको उल्लेख गर्दै कार्यक्रममा मन्त्री बस्नेतले यसका लागि जलविद्युतको उत्पादन बढाउने, प्रसारण तथा प्रणालीका पूर्वाधार विस्तारमा काम भइरहेको बताए ।
बस्नेतले खपत बढाउन र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् निर्यातका लागि बजार सुनिश्चितका लागि प्रयासहरू भइरहेको उल्लेख गर्दै उनले आयोजना तोकिएकै समय र लागतमा सम्पन्न गरी विकास निर्माणमा ढिला हुँदा उठ्ने प्रश्नको जवाफ दिनुपर्ने बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा उत्पादन भएको विद्युत् यही खपत गरी बढी भएको निर्यात गर्न बजार सुनिश्चित हुँदै गएको बताएका छन् ।
भारत र बंगलादेश नेपालमा उत्पादित विद्युत् खरिदका लागि आतुर रहेको बताउँदै घिसिङले ती देशहरुमा विद्युत् बिक्री गर्दा वर्षायामको बिद्युतको राम्रो दर पाउने अवस्था बन्दै गएको उल्लेख गरेका छन् ।
प्रशासक धितालले जलविद्युत क्षेत्रमा करिब आठ सय मेगावाटका आयोजनाहरुमा ४० अर्ब रुपैयाँभन्दा बढी कोषले लगानी गरेको जानकारी दिए । उनका अनुसार निर्धारित समय र लागतमा निर्माण सम्पन्न गरी आयोजनालाई नमुना बनाउनु पर्नेछ ।
कम्पनीका सीईओ भण्डारीले आयोजनाको निर्माण चार वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको जानकारी दिए । तामाकोसी पाँचौँ ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोसीको जलविद्युत आयोजनाबाट विद्युत् उत्पादनपछि निस्किएको पानीलाई उपयोग गरी निर्माण हुन लागेको क्यास्केड आयोजना हो ।
त्यसैले तामाकोसी पाँचौले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचनाहरु बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक मानिएको छ । आयोजनाबाट उत्पादित बिद्युत् खरिद बिक्रीका लागि प्राधिकरण र कम्पनीबीच सम्झौता भइसकेको छ ।
माथिल्लो तामाकोसीको विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने सिभिल संरचनाको निर्माण भइसकेको छ। हाइड्रो मेकानिकल काम बाँकी रहेको छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युत् गृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नुपर्ने छ ।
आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनौटका लागि टेण्डर प्रक्रियामा रहेको छ । आयोजनाबाट वार्षिक रुपमा ४९ करोड ५१ लाख युनिट बिद्युत् उत्पादन हुने छ । माथिल्लो तामाकोसीमा रोलवालिङ खोला मिसाएपछि आयोजनाबाट उत्पादन हुने विद्युत् बृद्धि भई ५४ करोड ३५ लाख युनिट पुग्ने छ ।

अर्थ सन्जाल