ग्लोबल आईएमई बैंकले पनि सीआश्वा शुल्क लिन थालेको छ । बैंकले फागुन ४ गतेदेखि निष्काशन हुने धितोपत्र खरिद (सार्वजनिक निष्काशन) मा प्रति आवेदन रु. १५ शुल्क निर्धारण गरेको हो ।
बैंकले जारी गरेको सूचनामा भनिएको छ ‘विगत लामो समय देखि निःशुल्क रुपमा सीआश्वा सेवा उपलब्ध गराईरहेकोमा मिति २०७८/११/०४ गते उप्रान्त निष्काशन हुने धितोपत्र खरिद (सार्वजनिक निष्काशन) मा प्रति आवेदन रु. १५ शुल्क निर्धारण गरिएको व्यहोरा जानकारी गराउँदछौं । यसवाट हाम्रा आदरणीय ग्राहक महानुभावहरुमा कुनै असविधा पर्न गएमा बैंक क्षमाप्रार्थी छ।’
यस संगै अब निशुल्क सीआश्वा सेवा दिने वाणिज्य बैंकको संख्या ४ वटा मात्र बाँकि रहेको छ । नबिल बैंक, मेगा बैंक, एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले हालसम्म निशुल्क सीआश्वा सेवा दिदै आएका छन् ।
धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, २०७३ मा बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत पचास हजार रुपैयाँसम्मको दरखास्तमा बढीमा एक सय रुपैयाँ र सो भन्दा बढी रकमको दरखास्तमा बढीमा दुई सय पचास रुपैयाँ सेवा शुल्क लिन सक्ने ब्यबस्था गरिएको छ ।
बैंक वा वित्तीय संस्थाले दफा धितोपत्रको दरखास्त संकलन शुरु गर्नु भन्दा कम्तीमा तीन दिन अघि आफुले लिने शुल्कको बारेमा आफ्नो कार्यालयको सूचना पाटी, वेबसाईट वा राष्ट्रियस्तरको दैनिक पत्रपत्रिका मार्फत सर्वसाधारणलाई जानकारी गराउनु पर्ने ब्यबस्था छ ।







