एमसीसी विरुद्धकाे प्रदर्शनमा १५० बढीआन्दोलनकारी पक्राउ

अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका १५० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डसहित विभिन्न प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएकाे छ । सरकारले संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि प्रहरीर प्रदर्शनकारी बीच भएको झडपमा एक दर्जन बढी प्रहरी घाइते भएका छन् भने एमसीसी विरुद्द प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी पनि घाइते भएका प्रहरीले जनाएको छ । एमसीसीको विरोधमा रहेका विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शनलाई केन्द्रित गरेका थिए । प्रदर्शनकारी निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ जान खोजेपछि प्रहरीसँग झडप भएको थियो ।

एमसीसीको विरोधमा सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ता पनि सडकमा आएका छन् । त्यस्तै एमसीसी संसदमा टेबल गर्न खोजेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका दलको मोर्चाले बुधबार नेपाल बन्द नै घोषणा गरेको थियो ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एमसीसीको विरोधमा प्रदर्शन गरेको थियो । झडपका क्रममा प्रदर्शनकारीलाई प्रहरीले सडकमै लछारपछार गरेको थियो । प्रदर्शनकारीले पनि प्रहरीलाई ढुंगा हानेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *