


पुँजीबजारसम्बन्धी नयाँ व्यापारिक लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न लगानीकर्ताहरुले माग गरेका छन्।
लगानीकर्ता संघहरुले अर्थमन्त्री डा. राम शरण महतलाई भेटेर ६ बुँदे माग पेश गरेका हुन् । नेपाल इन्भेष्टर फोरम, सेयर लगानीकर्ता संघ नेपाल, र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा आज मन्त्री महतलाई ६ बुँदे माग सम्बोधन गरिदिन आग्रह गरेका हुन् ।
लगानीकर्ताहरूको प्रमुख मागको रूपमा रहेको खुल्ला रूपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया छिटो गर्न माग गरेका छन् ।
त्यसैगरी, १२ करोड (बाह्र करोड) सम्मको सेयर कर्जाको सीमाले सेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि उनीहरुले आग्रह गरेका छन् ।
सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्न, लगानीकर्तालाई अल्पकालिन र दिर्घकालिन लगानीकर्ताको रूपमा विभाजन गरी सोहि अनुरूप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न, ब्याजदर एकल अंकमा कायम गर्न र तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गर्न लगानीकर्ताहरुले अर्थमन्त्रीसमक्ष माग गरेका हुन् ।

अर्थ सन्जाल