

भनिन्छ, संघर्ष जति कठिन हुन्छ, सफलता उति नै सानदार हुन्छ । सफलता पाउनका लागि जीवनमा कठिन परिस्थितिको पनि सामना गर्नुपर्ने हुन्छ । लगनशिलता, इमान्दारिता र कर्मनिष्ट व्यक्ति मात्र जीवनमा सफल बन्न सक्छ । त्यसैको पर्याय हुन् बैंकर प्रताप सुवेदी । पर्वतको कुस्मामा जन्मिएका सुवेदी कामप्रतिको लगनशिलताले गर्दा नै आज सफल बैंकर रुपमा परिचित छन् । सुवेदीलाई सानैदेखि सरकारी जागिर खाने हुटहुटी थियो । बुवाको प्रेरणा र आफ्नो लक्ष्यप्रतिको दृढ संकल्पले गर्दा नै आज उनले सफलता हासिल गरेका छन् ।
पर्वतमा नै बाल्यकालको शिक्षा हासिल गरेका सुवेदी पढाइमा निकै लगनशील थिए । जीवनमा केही न केही गर्नुपर्छ भन्ने सपना बोकेका उनले बैंकर नै बन्छु भनेर कहिल्यै सोचेका थिएनन् । उनले लोकसेवा पास गरेर सरकारी जागिर खान्छु भन्ने सोचेका थिए । तर भाग्यले उनलाई बैंकर बनायो ।
व्यवस्थापन संकायमा अध्ययन गरेका उनको रुची बैंकमै काम गरु भन्ने थियो । बुवा पनि सरकारी जागिरे । बुवा महालेखा परीक्षकको अडिटरको रुपमा कार्यरत थिए । जसका कारण सुवेदीलाई पनि लेखा परिक्षण र बैंकिङ कार्यप्रति उनले झुकाव बढ्यो ।
झुकावले मात्र सफल बैंकर कहाँ बन्न सकिन्छ र ? उनले जीवनमा धेरै संघर्ष भोगेका छन् । काम अनि कामलाई प्राथमिकता राख्ने उनले कर्म नै सबै थोक हो भन्ने बुझेका थिए । कर्म नगरी फल पाइदैन भन्ने बुझेका थिए ।
बाल्यकालमा चकचके स्वभाव रहे पनि आफुले राम्रो नराम्रो छुट्याउन सक्ने बेलादेखि शालीन र शान्त थिए । उनले जीवनमा कसैलाई झुक्याउन जानेनन् । कहिल्यै उट्पत्याङ गरेनन् ।
विद्यार्थी जीवनदेखि उनले आत्मनिर्भर बन्नुपर्छ भन्ने बुझेका थिए । पोखरामा उच्च शिक्षा पुरा गरेका उनले स्नाकोत्तर भने काठमाडौंमा पूरा गरेका थिए । स्नाकोत्तर पढ्दापढ्दै उनले गाउँ फर्किएर अध्यापन पनि गराए । सहायक प्राध्यापकको रुपमा रहेर उनले एकाउन्ट र बिजनेस स्टडी पढाए ।
यसरी भयो बैंकिङ करियरको सुरुवात
शिक्षण पेसामा आवद्ध गराउँदा गराउँदै उनले राष्ट्र बैंकको सहायक पदमा नाम निकाले । २०५३ सालमा राष्ट्र बैंकमा जोडिएका उनले करीब साढे ४ वर्ष काम गरे । त्यसपछि उनी कर्मचारी सञ्चय कोषमा शाखा अधिकृतमा उतिर्ण भए । उतिर्ण भइसकेपछि ६ महिनाजति कर्मचारी सञ्चय कोषको भैरहवा ब्रान्चमा काम गरे । नेपाल दूरसञ्चार प्राधिकरणको असिस्टेन्ट म्यामेजरमा समेत नाम निकालेका सुवेदीले त्यहाँ भए गएनन् । कर्मचारी सञ्चय कोषमा ६ महिना काम गरे ।
त्यसपछि सुरु भयो उनको कृषि विकास बैंकको यात्रा । उनले कर्मचारी सञ्चय कोषमा काम गर्दा गर्दै कृषि विकास बैंकको शाखा अधिकृतमा नाम निकाले । २०५७ साल माघ १८ गते कृषि विकास बैंक प्रवेश गरेका उनले त्यसपछि भने बाटो मोडेनन् । कृषि विकास बैंकको सुपरिवेक्षण कार्यालय धनगढ़ीमा लेखा अधिकृतको रुपमा पहिलो उनको पोस्टिङ भयो । त्यहाँ उनले करिब एक डेढ वर्ष काम गरे । त्यसपछि उनी बैंककै तालिमकेन्द्र (मध्यमाञ्चल तालिमकेन्द्र चितवन)मा सरुवा भए । त्यहाँ आन्तरिक लेखापरिक्षण फाँटमा रहेर एक डेढ वर्ष काम गरे । उनी त्यहाँबाट पनि सरुवा भए । सो पश्चात उनी काठमाडौंको गौशालास्थित बत्तीसपुतलीको आन्तरिक लेखा परिक्षण तथा निरीक्षण विभागमा लेखापरीक्षककै रुपमा २ वर्ष कार्यरत भए ।
त्यहाँबाट पनि उनी सरुवा भएर कम्पनी सचिवालय पुगे । त्यसपछि कामको जिम्मेवारी बढ्यो । कामलाई नै जीवन मान्ने कर्मनिष्ठ सुवेदीले आफ्नो कामलाई कुशलतापूर्वक ढंगले निर्वाह गरे । २०७२ सालसम्म सोही पदमा रहेर काम उत्कृष्ट योगदान गरेका सुवेदीको उचाई अझ माथि पुग्यो ।
काममा थाक्ने छुट छैन भनेर लागि पर्ने सुवेदीले खुल्लारुपमा विभागीय प्रमुखमा नाम निकाले । उनको सफलता यतिमै सीमित रहेन । उनले बैंकको कायमुकाय महाउपप्रबन्धकदेखि बैंकको प्रमुख कर्जा अधिकृतसम्मको अनुभव सम्हाले । गत उनी प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हालिरहेका सुवेदीले पुस ८ गतदेखि निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी पाए ।
उनै सुवेदी अहिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को बन्ने होडमा छन् ।
संघर्ष र अनुभवले निखारिएका सुवेदी जीवनलाई संघर्षको रुपमा परिभाषित गर्छन् । संघर्ष र उचारचढावले नै मानिसलाई लक्ष्यमा पुर्याउने बताउँछन् ।

सरस्वती अधिकारी