

पुष्पकमल दाहालको हुन् मलाई थाहा थिएन । जे देखिन्छ त्यहिँ मात्र सत्य हो, भन्ने बुझाइको बाल्यावस्था अनि सोही अवस्थाको मेरो मानस्पटलमा “प्रचण्ड” भन्ने त्यो एउटा पात्र जो ‘बा’ ले सुनाउने कथाको ‘राक्षस’ का रुपमा डेरा जमाएर बसेको थियो । असाध्यै डरलाग्दो, कठोर, दया माया करुणाभाव केही नभएको, मानविय स्वभावभन्दा फरक, द्वन्द्वात्मक एवं ध्वंसात्मक चरित्रको पात्रमा रुपमा महसुस गरेका पात्र थिए प्रचण्ड । उनको नाम र काम सम्झदा कयौँ रात ननिदाएरै उज्याला भएका थिए मेरा ।
मादी नदी वारि हाम्रो गाउँ, पारी ठूलो संख्यामा मुस्लिम बस्ती थियो । त्यसैको माथी घना जङ्गल अनि तेहि जङ्गलको नजिकबाट पछाडी बडेमानको झोला बोकेर लावालस्करसहित कमिलाको तातीझै हिडेका मान्छे देखेर मैले बालाई सोधे, बा! हेर्नुन कति धेरै मान्छे ! जन्ती जस्तै छन्, आज कसैको बिहे हो र ? अनि बाले मलिनो स्वरमा भन्नुभयो, हैन छोरी ! यी त माओवादी हुन् । राज्यको विरुद्धमा युद्ध गर्न हिडेका रे !
त्यतिबेलाको कच्चा दिमाग । के उद्देश्यले द्वन्द्व गरियो कसरी पत्तो पाउनु ? माओवादी र आर्मी शब्दको गुञ्जन बाहेक अरु केही थाहा हुने कुरै भएन । मनमा डर र त्रास बाहेक केही थिएन ? हात हातमा बन्दुक बोकेर हिड्ने कतिबेला कसलाई हान्थे टुंगो नै हुन्न थियो । कहिले आर्मी बनेर माओवादी आउने, त कहिले माओवादी बनेर आर्मी ! जो आउँथे धक्की र त्रास देखाएर जान्थे । पढाउँदै गरेका शिक्षक, पढ्दै गरेका विद्यार्थी, खेतमा काम गर्दै गरेका किसान, समाजमा अब्बल ठहरिएका व्यति जो देख्थे उसैलाई अपहरण गर्थे । आर्मीले राज्यलाई सपोर्ट गर्न भन्थ्यो, माओबादीले माओवाद अगाल्न धम्की दिन्थ्यो । भनेको नमाने सिधै गोली ठोक्थे । त्यो पनि अति क्रुरतापूर्ण हत्या । त्यतिबेला त लाग्थ्यो मान्छे मार्न जस्तो सजिलो काम अरु केही रहेनछ ! । मारिएकाहरुको शव त जेनतेन भेटिन्थ्यो तर कसैको टाउको हुँदैनथ्यो कसैको शरीर । पुरै शव भेटिए पनि पहिचान गर्न नसक्ने हुन्थे । …
जनयुद्धको लहर थियो । पुसको कठ्याङ्ग्रिने जाडो । साँझ छिप्पिएर आँखा लोलाउन थालेका थिए । हाम्रोतिर १५ पुस मनाउने चलन थियो । घरमा पाहुना पनि थिए । आमा भान्सामा व्यस्त थिइन् । बुबा चुरोट तान्दै अगेनाको छेउमा पाहुनासँग गुनगुन गर्दै गफ गरिरहेका थिए ।
संकटले गाउँ त्रासदीपूर्ण थियो । बुवाले मसिनो स्वरमा भने – …. का छोरालाई त माओवादीले मारेछ नि !
आमाले डराउँदै भन्नुभयो – होर ? सानो स्वरले बोल्नु न ! पल्लो घरमा माओवादी आएर बसेका छन् ।
(त्यतिकैमा जुत्ता बजेको आवाज आयो ।) त्यो ताका खस्र्याकखुस्रुक आवाज आउँदा पनि मन डरले भरिथ्यो । हातगोडा गल्थे । मन आतिन्थ्यो ।
आमाको नजिकै बसेर पढिरहेको म एक्कासी आत्तिएर आमाको अंगालोमा पुगेँ ।
करिब ११ जनाको संख्यामा रहेका माओवादी घरभित्र छिरे । घर एक्कासी सुनसान भयो । चन्द्रमाको उज्यालो जस्तै हाम्रो घर एक्कासी औंसीको अध्याँरोमा परिणत भयो । सबै एकअर्कालाई हेरेर मुखामुख गर्न थाले । मधुर आवाज निभ्न लागेको मनैबत्ति झैँ एक्कासी रोकियो ।
मेरो मानसपटलमा माओवादी कस्ता होलान् भन्ने थियो । प्रत्यक्ष आफ्ना आँखा अगाडि उभिए । ती मैले सोचेका भन्दा भयानक थिए । हेर्दै राक्षस जस्ता । मुखमा कालोपट्टि, कसैका हातमा बन्दुक थिए, त कसैका हातमा धारिलो हतियार ।
यो दृश्य देखेर मेरो होसहवास उडिसकेको थियो । एकछिनपछी हामीलाई अलग अलग कोठामा लगे । हात पछाडी लगेर बाँधे । मुख बाँधे अनि कंचटमा बन्दुक छातीमा धारिलो खुकुरी राखे ।
सानो बुवाको घर अलिक माथि थियो । सानोबुवा प्राथमिक विद्यालयको प्रधानाध्यापक थिए । त्यहाँ पनि माओवादी पुगेका रहेछन् । घरमा लुटपाट मच्चाए । खसी काटेर खाए । सोही घटनामा हृदयघात भएर सानीआमाको मृत्यु भयो । उक्त घटनापछि सानोबुवाले गाउँ छाडे ।
यो त म र मेरो परिवारले भोगेको पीडा हो । त्यो समय मेरो सिंगो गाउँ नै यस्तै पीडाबाट प्रताडित थियो । यो संकट सिंगो देशले नै सामना गर्नुपर्यो ।
२०५२ फागुन १ बाट सुरु भयो जनयुद्धको नाम दिएर निर्दोष नागरिकको हत्या गर्ने शृङ्खला। परिवर्तनको नाममा हजारौँले छोराछोरी गुमाए, हजारौँको सिउँदो पुछियो, हजारौँ अपांग भए, कयौँ टुहुरा अनि घरबारबिहिन बने । तर त्यस्को उपलब्धि भने सीमित व्यतिले सात पुस्तालाई पुग्ने सम्पत्ति थुपार्ने, राज्यको ढुकुटी रित्याउने बाहेक सम्झन लायक केही भएन ।
जनयुद्धको नाममा निर्दोष व्यक्तिहरु मारिए । निर्दोष शिक्षक मारिए । डाक्टर मारिए । पुजारी मारिए । राजनीतिक कार्यकर्ता मारिए । कर्मचारीहरु मारिए । विद्यालय बन्द भए । अस्पताल, उद्याेग सबै बन्द पारिए, ध्वस्त पारिए । परिवर्तन लागि गरिएको युद्धले नागरिकले सास्ती खेप्नेबाहेक अन्य प्रशंसा गर्न लायक उपलब्धि भएन ।
करीब १० वर्ष नरसंहार मच्चियो । कसले कतिबेला गोलीको निशाना बनाउने हो भन्ने पत्तै हुन्न थियो । आमाहरुलाई सन्तान जिउँदो फर्किन्छ कि फर्किदैन भन्ने चिन्ता हुन्थ्यो । श्रीमतीलाई सिउँदो खोसिन्छ कि भन्ने डर । साँझ पर्दासम्म सन्तान घर फर्किएन भने परिवारको धुकधुकी बढ्थ्यो । खेतमा काम गर्न गएका किसानलाई समेत कसैले अपहरण गर्छ कि भन्ने डर हुन्थ्यो ।
गाँस खोसिने डर, बास खोसिने डर अनि सास खोसिने डर । जनयुद्धले के पायो ? त्यसको उपलब्धि के भयो ? त्यो नरसंहार मच्चाउने नाइकेहरुलाई नै थाहा होला ! तर जनयुद्धमा गुमाउनेहरुको पीडा भने दर्दनाक छ ।
कसैले सन्तान गुमाए । कसैले श्रीमान गुमाए । कसैले आफ्नो भरोसा गुमाए । कसैको गाँस खोसियो । कसैको बास खोसियो । कसैको प्राण खोसियो । जसले जे गुमाए, क्षति मात्र भयो ।
परिवर्तनका लागि नरसंहार मच्चाउनेहरु अहिले आलिसान महलमा छन् । चिल्ला गाडीमा हिड्छन् । त्यो पनि सुरक्षाकर्मीको लावालस्करसहित । तामझामका साथ । राजा फाल्न हजारौँका बलि चढाउनेहरु आज आफैँ राजा बने । तर परिवर्तनका लागि युद्धमा गोलीको छर्रा थाप्नेहरुको अवस्था भने अत्यन्त दयनीय छ ।
जिबन भोगाई हो,मैले जे भोगे जनयुद्दका नाममा त्यो सम्झिन लायक पटक्कै थिएन। मैले उत्सव मनाउनुपर्ने आवस्यकता कहिँ देखिन। त्यसैले त आजको दिन,निहत्था,गरिव निरीह नेपाली जनता मार्न र सिमित व्यक्तिले राज्यसत्ताको दोहनका निमित्त युद्दको शुरुवात गरिएको त्यो कालोदिन हो ।
दश वर्षभन्दा लामो समयको नरसंहारपछि विस्तृत शान्ति सम्झौता भयो । युद्धविरामको अन्त्य पनि भयो । नेपाल सरकार र नेकपा माओवादीले वि.सं. २०६३ मंसिर ५ गते शशस्त्र लडाईँको औपचारिक अन्त्यको घोषणा गर्दै सम्झौता गर्यो ।तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे। यस सम्झौताले ने.क.पा. (माओवादी) लाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुल्यो ।
शान्ति सम्झौता भएको १६ वर्ष बित्यो । तर द्वन्द्वपीडितहरूको समस्या भने ज्युँकात्यूँ छ । द्वन्द्वका कमाण्ड सम्हालेका नाइकेहरु ३ पटक सत्तामा पुगे । तर द्वन्द्वपीडितहरू अझै आफ्ना मागहरू सम्बोधन नभएको र न्याय नपाएको गुनासो गरिरहेका छन्।
संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने सहमति भने अझै कार्यान्वयनमा आउन सकेको छैन । यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन भए पनि द्वन्द्वपीडितले न्यायकाे महसुस गर्न सकेका छैनन् ।
अहिले मुलुकमा जनयुद्धको नेतृत्व गरेका पुस्पकमल दाहाल प्रचण्डनै नेतृत्वमा छन् । ‘जनयुद्ध दिवस’ भन्दै उनले सार्वजनिक बिदा घोषणा पनि गरे । तर आफ्ना र आफन्त अनि सत्ता र शक्तिभन्दा बाहेक केही नदेख्ने आधुनिक गणतन्त्रका चतुर खेलाडी प्रचण्डले अहिलेसम्म पनि द्वन्द्वपीडितको घाऊमा मलमसम्म लगाउन सकेका छैनन् ।

सिर्जना वाग्ले