नेपाल लाइफ इन्स्यारेन्स कम्पनीमा केही सञ्चालकहरुको मनोमानीका कारण लामो समयदेखि प्रमुख कार्यकारी पद रिक्त छ । तत्कालिन सीईओ सन्तोष प्रसाईलाई काम गर्नै असहज हुने गरी दवाव दिइएपछि उनले राजनीनामा दिएका थिए । प्रसाईले राजीनामा दिएपछि डेपुटी सीईओ शुसिल कुमार चौधरीलाई कार्यबाहक सीईओको जिम्बेवारी दिइएको थियो ।
नेपाल लाइफमा कार्यबाहक सीईओको भरमा संस्था चलाइएको तीन महिना पुग्न लागिसकेको छ । बीमा समितिले २३ पुसमा बीमा कम्पनीहरुका लागि दिइएको निर्देशन अनुसार यसरी लामो समयसम्म संस्थालाई कायममुकायमका भरमा चलाउन पाइदैन । बीमा समिति बीमा कम्पनीहरुको नियमनकारी निकाय हो । तर नियामक निकायको निर्देशन विपरित नै संस्थाले कामु सीईओको भरमा काम गरिरहेको छ । कार्यकारी प्रमुख विनै दोस्रो वरियताको कर्मचारीलाई कार्यबाहक दिएर लामो समयसम्म संस्था चलाउन खोजिएको भन्दै समितिले नयाँ निर्देशन दिएको थियो ।
संस्थागत सुशासन सम्बन्धी नयाँ व्यवस्था गर्दै समितिले अब प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद रिक्त भए तीन महिनाभित्रै पदपुर्ति गर्नुपर्ने व्यवस्था गरेको हो । यो व्यवस्था अनुसार अब तीन महिना भन्दा बढी समय कामु सीईओ राख्न पाइने छैन । तर नियामक निकायको निर्देशनको खुलेआम उलंघन गर्दै नेपाल लाइफले बोरु कामु सीईओ भन्दा माथि हुने गरी सिनियर डेपुटी सीईओको रुपमा प्रविण रमण पराजुलीलाई ल्याएको छ ।
पराजुलीले केही समय रिलायन्स लाइफमा काम गरे । त्यसअघि उनी मर्चेन्ट बैंकमा कार्यरत थिए । बिमा क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरुलाई पाखा लगाउँदै नेपाललाईफले नियामक निकायको निर्देशनको उलंघन गरेको छ । नेपाल लाइफले यसरी उलंघन गरेपछि बिमा क्षेत्रका जानकारहरुले अब बिमा समितिले नियामकीय डण्डा नेपाल लाइफालाई चलाउला कि नचलाउला भनेर चासोका साथ हेरेका छन् ।
यो कम्पनीको अर्को बद्मासी भनेको कामु सीईओलाई २ नम्बर वरियतामा राख्नु समेत हो । अर्को सीईओ नियुक्त नभएसम्म कामु सीईओ नै कर्मचारी मध्येको पहिलो वरियतामा हुनुपर्ने हो । तर कम्पनीले नियामक निकायको आँखामा छारो हाल्दै कामु सीईओ चौधरीलाई दोस्रो नम्बर वरियतामा राखेको छ ।





