

प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न अपिल गरेको छ । पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण हुँदा आत्मदाह गर्नेको संख्या बढेको भन्दै खुलारुपमा पेट्रोल बिक्री नगर्न प्रहरीले आग्रह गरेको हो ।
मंगलबार मात्रै संघीय संसद् भवन अगाडि आफैंलाई आगो लगाएर प्रेमप्रसाद आचार्यले आत्मदाह गरे । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए । आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएको थियो । उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो । जसका उनलाई बचाउन असम्भव भयो ।
गत माघ ५ गते सुन्धारास्थित सिभिल मलमा पुगेर एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए । उनको बेलैमा उद्धार भएकाले ज्यान भने जोगियो। गत १८ मंसिरमा बुद्धनगरकी पुष्पा न्यौपानेले पनि आफैंलाई पेट्रोल छर्किएर आत्मदाह गरेकी थिइन् ।
यी त हुन् हालसालै घटेका प्रतिनिधि घटना । यस्ता प्रकृतिका अन्य घटना यसअघि नघटेका होइनन् । लगातार यस्तो गतिविधि बढिरहेका बेला प्रहरीले सार्वजनिक सूचना जारी गर्दै पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण गराएको हो ।
आगलागी, मानवीय र भौतिक क्षतिका साथै सुरक्षा संवेदनशील हुने भएकोले खुला रुपमा बिक्री वितरण नगर्न प्रहरीले सचेत गराएको छ । यदि बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ ।
गोदावरी नगरपालिकाको किराना पसलनै पेट्रोल पम्प !
प्रहरीले पेट्रोलियम पदार्थलाई खुला रुपमा बिक्री नगर्न अपिल गरे पनि ललितपुरको गोदावरी क्षेत्रमा खुल्लमखुल्ला रुपमा किराना पसहरुमै पेट्रोल विक्रीवितरण हुने गरेका पाइएको छ । तर पनि त्यसतर्फ भने कसैको ध्यान जान सकेको छैन । गोदावरी नगरपालिका वडा नं.३ का चौखेल, मोतिचौर, धारापाठी लगायत स्थानका किरानाहरुमा खुलेआम पेट्रोल पाइन्छ ।
केही समय अगाडि हामी काम विशेषले गोदावरी पुगेका थियौँ । जाँदाजाँदै स्कुटरमा पेट्रोल सकियो । अब हामीलाई पेट्रोल जसरी नै चाहिने नै भयो । हरिसिद्धि कटेपछि हामीले त्यहाँको एक स्थानीयलाई नजिकै पेट्रोल पम्प छ (?) भनेर सोध्यौँ । ती स्थानीयले गोदावरी पुगेपछि छ भने । हामी अगाडि बढ्दै गयौँ तर कतै पनि पेट्रोल पम्प देखेनौँ । हामी पहिलोपल्ट त्यो ठाउँको यात्रा गर्दै थियौँ । यसअर्थ सो क्षेत्रमा पेट्रोल पम्प भए नभएको यकिन थिएन ।
फेरि केही अगाडि पुगेपछि हामीले फेरि अर्का एक जनालाई सोध्यौँ । दाइ यता पेट्रोल पम्प कता छ ? उनले हँसिलो मुख पार्दै उत्तर दिए– यहाँबाट केही अगाडि जानुस् पसलपिच्छे नै पेट्रोल पम्प छ । हामी अचम्मित भयौँ । फेरि दोहोर्याएर सोध्यौँ – पसलपिच्छे पेट्रोल पम्प ? उनी ती व्यक्तिले भने– ‘यहाँ हरेक पसलमा पेट्रोल पाइन्छ ।’
ती व्यक्तिले भनेझैँ हामी केही पर रहेको एक किराना पसलमा गएर रोकियौँ । त्यहाँ रहेका एक पसलेलाई सोध्यौँ – साहुजी पेट्रोल पाइन्छ ? ती पसलेले भने पाइन्छ नि ! कति चाहियो बहिनी ?
एक लिटर दिनुस् न ।
ती साहुजीले एक बोतल पेट्रोल ल्याएर हातमा थमाइदिए । पैसा कति हो ? मैले प्रश्न गरेँ ।
ती साहुजीले भने– दुई सय रुपैयाँ हो बहिनी ।
एक लिटर पेट्रोलको २ सय रुपैयाँ ? कहिले बढेको हो र ? मैले ती साहुजीलाई प्रश्न गरे ।
हामीले पनि उतादेखि ल्याउनुपर्छ । लिन जाऊ, लिएर आऊ हाम्रो पनि खर्च हुन्छ नि ।
पेट्रोल अतिआवश्यक थियो । हामीले त्यसबेलाको मूल्यअनुसार १८० रुपैयाँको पेट्रोललाई हामीले २०० रुपैयाँ नै ति¥यौं ।
हामी मिडियाकर्मी भएको थाहा पाएपछि ती साहुजीले जति पर्छ त्यति मात्र दिनुस् । तर यो विषयमा चाहिँ नलेख्नुस् भनेर आग्रह गरे । तर हामीले तपार्इँको व्यापार हो । अरुलाई जति लिनुहुन्छ त्यति नै लिनुस् भनेर २०० रुपैयाँ नै दियौँ ।
त्यहाँ मात्र होइन त्यहाँका हरेक पसलमा पेट्रोल पाइन्छ । वास्तवमै त्यहाँका हरेक पसलमा पेट्रोल पम्प छ ।
एक लिटर पेट्रोलमै २० रुपैयाँ नाफा खाएर खुल्लमखुल्ला व्यापार गर्दा पनि त्यस क्षेत्रमा स्थानीय निकायको नजर पुगेको छ । न त आयल निगमले अनुगमन गर्न सकेको छ ।
निरिह सरकार !
आत्मदाह गर्नेको संख्या बढ्यो भन्दै सरकारले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । त्यो पनि एउटा विज्ञप्ति निकालेर । समस्या किन बढ्यो ? बोतल र जर्किनमा किन पेट्रोल बिक्री भइरहेको छ ? यो विषयमा सरकारले भने ध्यान दिन नसकेको र समस्याको पहिचान गर्ने काममा नै अग्रसरता नदेखाएको पाइएको छ ।
घटना घटेपछि एउटा विज्ञप्ति निकालेर पन्छिने खोज्ने सरकार काठमाडौं उपत्यकामै पनि मापदण्डअनुसार पेट्रोल पम्प खडा गरेर सेवा उपलब्ध गर्न चुकेको देखिन्छ । पसल पसलमा पेट्रोल बेच्नु गैरकानुनी काम भएको नेपाल आयाल निगम बताउँछ । निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन्, ‘घरायसी प्रयोजनका लागि भएर मान्छेले मोटरसाइकलमा पेट्रोल हालेर लैजाने । अनि निकालेर बेच्ने त्यो गर्नु एकदमै गलत हो । यदि कसैले अनुचित तबरले त्यसो गर्छन् भने त्यो गलत कुरा हो । यस्ता कुरा स्थानीय प्रशासनले नियन्त्रण गर्नुपर्छ ।’
विभिन्न ठाउँबाट यस्तो काम भइरहेको कुरा आयल निगममा आइराखेको उनले बताए । उक्त कार्य स्थानीय प्रशासनलाई जानकारी गराउनुपर्ने र स्थानीयले निकायले नै नियन्त्रण गर्नुपर्ने उनले बताए ।
उक्त कुरामा स्थानीय प्रशासन चुकेको उपाध्याय बताउँछन् । विक्रेताको विक्रीस्थलको मापदण्ड सम्बन्धी व्यवस्था नेपाल आयल निगमको विनियामाली अनुसार बिक्रेताको बिक्रीस्थलको दुरी साधारण बिक्रेता, पेट्रोल बिक्रेता बीचको बिक्रीस्थलको दुरी कम्तीमा तीन सय मिटरको परिधी बाहिर हुनुपर्नेछ ।
तर पूर्व पश्चिम राजमार्गको हकमा उक्त दूरी पाँच सय मिटरको परिधी बाहिर हुनुपर्नेछ ।
उक्त स्थानमा हरिसिद्धिदेखि उता पेट्रोल पम्प नै छैन । जसको फाइदा व्यापारीले उठाइरेका छन् ।
कारबाहीको दायरामा ल्याउँछौं- वडाध्यक्ष
गोदावरी नगरपालिका वडा नं– ३ का वडाध्यक्ष राज घिमिरेले अनधिकृत रुपमा पसलमा पेट्रोल बेच्नेलाई कारबाहीको दायरामा ल्याइने बताए । उनी भन्छन्, ‘गोदावरी नगरपालिका वडा नं.३ का चौखेल, मोतिचौर, धारापाठीका केही स्थानमा पसल बेच्ने गरेको पाइएको छ । उनीहरुलाई मौखिक निर्देशन दिइसकेका छौँ । अटेर गरेमा कारबाही गर्छौं ।’
केही पसलमा अवैध रुपमा पेट्रोल बिक्री हुने गरेको उनी स्वीकार गर्छन् । यस विषयमा वडाले अनुगमन गरिरहेको पनि उनले बताए । दिर्घकालिन रुपमा नै खुलेआम पेट्रोल बिक्री गर्ने अवस्थाको अत्य गर्ने उनले बताए । उक्त विषयमा छलफल स्थानीय प्रशासनसँग छलफल भइरहेको र केही दिनभित्र प्रक्रिया अघि बढाइने उनले सुनाए ।
यस विषयमा बुझ्न नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने कुरा गर्नै चाहेनन् । उनले आफू व्यस्त रहेको बताउँदै पन्छिए ।
यसरी खुलेयाम पेट्रोल पाइने सो स्थानमा मात्र होइन देशका विभिन्न जिल्लाहरुमा बोतलमा पेट्रोल पाइन्छ । यसरी बजारमा पाइने खुलेआम पेट्रोल कम गुणस्तरको हुने भन्दै प्रयोग नगर्न निगमका प्रवक्ता उपाध्याय अपिल गर्छन् ।
अति प्रज्वलनशील पेट्रोलियम पदार्थलाई खुला रुपमा बिक्री गर्दा असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय एवंम भौतिक क्षतिसमेत हुने भएकोले यो सुरक्षा संवेदनशील विषयमा खेलवाड नगर्न समेत निगमले आग्रह गरेको छ ।
विज्ञप्ति निकालेरै समस्यादेखि पन्छिन्छ सरकार
एउटा समस्या समधान भएकै हुन्न, तर सरकार र सम्बन्धित निकाय भने मुखदर्शक बन्दै हतार हतार अर्को बिज्ञप्ति निकाल्छ अनि ठुलै उपलब्धी हासिल गरेझै प्रचार प्रसार गर्न सुरु गर्छ । आजै मात्र बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न प्रहरीले अपिल गर्यो । प्रहरीले सार्वजनिक सूचना जारी गर्दै आत्मदाह’का घटना बढेकोले बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही गर्ने चेतावनी समेत दिएको छ। तर यसरी खुलेआम हरेक किराना पसलमै पेट्रोलियम पदार्थ बिक्री वितरण हुदा समेत न कसैलाई कारबाही भयो न पहलकदमी।
त्यस्तै अझै मात्र नेपाल आयल निगमले पनि बोतल र जर्किनमा पेट्रोल नबेच्न भन्दै बिज्ञप्ति सार्वजनिक गरेको छ । तर तिन तहको सरकार हुदा समेत यसरी खुलेआम अबैध धन्दा चलिरहदा अनुगमन गर्ने अनुसन्धान गर्ने र कारबाही गर्ने जमर्को कसैले गरेका छैनन्। के सरकारको काम प्रेस बिज्ञप्ति निकाल्ने मात्र हो त ? अब हरेक नागरिकले प्रश्न गर्ने बेला भएको छ।
सरस्वती अधिकारी