

खराब कर्जा बढ्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमाक जानकी फाइनान्सको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो अवधिसम्म कम्पनीको नाफा ५८.९९ प्रतिशतले घटेको हो ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद नाफा १ करोड ४५ लाख रुपैयाँमा सीमित भएको छ। जबकी गत वर्ष यही अवधिसम्म भने कम्पनीले ३ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) ५.३१ प्रतिशतबाट बढेर ११.१८ प्रतिशत पुगेको छ। जसको कारण नाफा समेत प्रभावित बनेको छ ।
कम्पनीको सञ्चालन मुनाफा पनि ५७.९८ प्रतिशतले घटेर १ करोड ७९ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ करोड २७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।
कम्पनीले खुद ब्याज आम्दानीबापत १० करोड १० लाख रुपैयाँ आर्जन गरेको छ। यस्तो आम्दानी गत वर्ष ९ करोड ५१ लाख रुपैयाँमा सीमित थियो। ब्याज आम्दानी ६.१५ प्रतिशतले बढेको छ।
दोस्रो त्रैमासमा कम्पनीले ३ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
चुक्तापुँजी ६९ करोड ४ लाख रुपैयाँ रहेको कम्पनीको कोषमा २० करोड ५१ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११.८५ रुपैयाँ घटेर ४.२३ रुपैयाँमा झरेको छ। पीई रेसियो १००.६२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३६.९१ रुपैयाँ रहेको छ।
अर्थ सन्जाल