

काठमाडौंको सोल्टी होटलमा जारी ‘दुबई प्रपर्टी शो’ मा प्रहरीले छापा मारेको छ । विदेशमा घरजग्गा किन्न बन्देज रहेपनि दुबईमा निर्मित फ्ल्याट र घरको विज्ञापन गर्ने लक्ष्यसहित २ दिनदेखि गुपचुपरुपमा चलिरहेको शोमा आइतबार प्रहरीले छापा मारेको हो ।
महानगरीय प्रहरी वृत्ति कालिमाटीका प्रहरी नायब उपनिरीक्षक (डीएसपी) अनिल घिमिरे नेतृत्वको टोलीले दुवैको द म्याक नामक कम्पनीले आयोजना गरेको शोमा छापा मारेको छ । नेपालमा प्रपर्टी शो सञ्चालनका लागि कुनै अनुमतिसमेत नलिई दुबईबाट ३ र भारतबाट २ गरी ५ विदेशी आएका प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंक र अन्य कुनै पनि सरकारी निकायसँग अनुमति नलिई शो चलिरहेको थियो । तर, शोमा नेपालीको संलग्नता भने नदेखिएको डिएसपी घिमिरेले बताए ।
नेपालमा बस्ने नेपाली नागरिकले विदेशमा कुनै अचल सम्पत्तिमा लगानी गर्न नपाउने व्यवस्था छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विदेशमा घर–जग्गा किन्न, धितोपत्रमा लगानी गर्न, सम्पत्ति खरिद र विदेशी बैंकमा रकम जम्मा गर्न बन्देज गरेको छ । र, यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने केन्द्रीय बैंकले चेतावनी समेत दिएको छ ।
तर, ५ जना विदेशी नागरिक आएर नेपालमा खुलेआमरुपमा प्रपर्टी शो गरेको पाइएपछि छापा मारिएको प्रहरीले जनाएको छ ।
अर्थ सन्जाल