

हिमालयन बैंक लिमिटेडको तीसौंं वार्षिक साधारणसभा बिहिबार सोल्टी होटलमा बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा सफलताका साथ सम्पन्न भएको छ ।
सो सभाबाट सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताब सर्वसम्मतीले पारित गरेको छ । बैंक तथा सभाका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले साधारण सभामा संचालक समितिको प्रतिवेदन पढि प्रस्तुत प्रस्तावहरुमा छलफल गरि अनुमोदनको लागि प्रस्तुत गर्नुभयो ।
उहाँले बैंकका निवर्तमान अध्यक्ष तथा संस्थापकहरु हिमालय शम्शेर राणा, स्व. नरसिह बहादुर श्रेष्ठ, स्व. मोहन गोपाल खेतान, मनोज बहादुर श्रेष्ठ, तुलसी प्रसाद गौतम लगायत संचालक समितिका सदस्यहरुलाई बैंक स्थापनाकाल देखि देशको एक सबल र उत्कृष्ट बैंक बनाउन पर्याउनु भएको योगदानको लागि विशेष धन्यवाद प्रदान गर्नुभयो ।
साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहित सोही आ.व.को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ८% बोनस शेयरले हुने जम्मा रु. १.०३ अर्ब तथा ११.११ % नगद लाभांशले (कर सहित) हुने जम्मा रु. १.४४ गरी कुल १९.११% लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ । उक्त साधारणसभाले बिजय बहादुर श्रेष्ठलाई निर्विरोध रुपमा सर्वसाधारण शेयरधनीका तर्फबाट संचालक समितिमा निर्वाचित गरेको छ ।
सो साधारण सभाबाट हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई (Swap Ratio 1:0.8028) १०० बराबर ८०.२८ (सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरुले हिमालयन बैंकको ८०.२८ कित्ता शेयर पाउने) शेयर आदान प्रदान अनुपातमा प्राप्ति गर्ने प्रस्ताव लगायतका अन्य प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति पश्चात हिमालयन बैंक लिमिटेड कै नाममा एकिकृत कारोबार गर्नेछ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको कूल अधिकृत पूँजी रु. २६ अर्ब हुनेछ भने जारी तथा चुक्ता पूँजी रु. २१.६५ अर्ब भन्दा बढी हुनेछ । प्राप्ति पश्चात बैंकको कूल पूँजीकोष रु. ३६.६९ अर्ब भन्दा बढी हुनेछ । यसै गरी बैंकको कूल शाखा संजाल १८९, विस्तारित काउन्टर १९ र एटीएम संख्या २६२ पुग्नेछ ।
यस प्राप्तिले नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ति सम्बन्धी नीतिलाई आत्मसाथ गर्दै बैंकिङ्ग लगायत पुरा राष्ट्रको वित्तीय विकासमा योगदान पुर्याउनेछ भन्ने विश्वास बैंकले लिएको छ । यसका साथै प्राप्ति पश्चात पनि आफ्ना शेयरधनीहरु, ग्राहकवर्ग तथा शुभचिन्तकहरुले उत्तिकै माया, विश्वास र साथ प्रदान गर्नेछ भन्ने कुरामा पुर्ण विश्वस्त छ ।
बैंकका शेयरधनीहरुको उल्लेख्य उपस्थितिमा शेयरधनी महानुभावहरुले प्रस्तुत प्रस्तावहरुमा आ—आफ्नो मन्तव्य राखी साधारण सभा १२ः०० भित्र नै सम्पन्न भएको थियो ।
अर्थ सन्जाल