

हिमालयन बैंकको साधारणसभामा राणा शासनकै झल्को दिने दृश्य देखिएको छ । बैंकले अधिकांश सेयरधनीलाई बाहिरै राखेर सभा सञ्चालन गरेपछि सेयरधनीहरुले नाराबाजी गरेपश्चात दृश्य असहज बन्यो । जसका कारण केही समय सभाहल नै तनावग्रस्त बन्यो ।
बैंकको ३०औँ वार्षिक साधारणसभा आज (बिहीबार) काठमाडौंको सोल्टी होटलमा बिहान ११ बजे सुरु भएको थियो ।
तर बैंकले निर्धारित समयभन्दा केही समय ढिला पुगेका सेयरधनीलाई प्रवेशमा रोक लगाएको थियो । १२ बजे सभामा पुगेका सेयरधनीहरुलाई साधारणसभा सकियो भनेर बैंकले भित्र प्रवेश गर्नै दिइएन ।
बैंकको साधारणसभा चलिरहे पनि ढिला आएको कारण देखाउँदै बैंकले ताल्चा नै लगाएर सेयरधनीलाई बाहिरै रोकेको थियो । यतिसम्मको वार्षिक प्रतिवेदन पुस्तिकासम्म पनि बैंकले उपलब्ध गराएन ।
‘तपाईहरु ढिला आइपुग्नुभयो । एजिएम सकिसक्यो । पुस्तक प्याक गरेर पठाईसक्यौँ । हाम्रो कार्यालयमै आएर लिनुस् ।’ डेस्क सपोर्टका लागि बसेका बैंकका एक कर्मचारीले भने ।
सेयरधनीहरु भने आफूहरुलाई एजिएममा जान नदिए पनि पुस्तक त उपलब्ध गराइदिनुस् भनिरहेका थिए । पुस्तक समेत दिन आनाकानी गरेपछि सेयरधनीहरु आक्रोशित भएका हुन् । बैंकहरुमा लुटतन्त्र हाबी भएको भन्दै उनीहरुले चर्को नाराबाजी गरे ।
धेरै बैंकहरुले साधारणसभा जुधाएकै कारण पनि सेयरधनीहरु समयमा पुग्न सकेका थिएनन् । हिमालयन बैंकले साधारणसभा समेत पायक नपर्ने ठाउँमा लगेर गरेको भन्दै सेयरधनीहरुले दुखेसो पोखे ।
‘विशेष गरी साधारणसभामा सेयरधनीहरुको कुरा सुन्ने र उनीहरुले उठाएको विषयमा सञ्चालकको जवाफ दिनुपर्ने हो । सेयरधनीहरुको प्रतिनिधित्वलाई सञ्चालकले जोड दिनुपर्ने हो । तर बैंकले उल्टै सेयरधनीलाई बाहिरै राखेर ताल्चा मारेर एजिएम गर्यो ।’ एक सेयरधनीले भने ।
‘कि सेयरधनीलाई नआइजो भन्नु पर्थ्यो । हामी पनि सेयरहोल्डर हौँ । त्यतिकै काम नभएर आएको होइनौं । कि यति बजे भित्र प्रवेश गरिसक भन्नुपर्थ्यो । सेयरधनी प्रतिनिधित्व गर्न नपाउने भए बैंकमै ढोका थुनेर निर्णय गरेको भए भइहाल्यो नि ।’ ती सेयरधनीले आक्रोशित भावमा भने ।
हिमालयन बैंकमा राणा शासन हाबी भएको सेयरधनीको आरोप छ ।
‘हाम्रो अधिकारको कुरा हो । एजिएम बोलाएर सेयरधनीलाई नै भित्र छिर्न नदिने यस्तो पनि हुन्छ ? लगानीकर्ताको नै महत्व छैन भने के काम ? हामीले किन लगानी गर्ने ? हाम्रो पैसा बटुलेर बैंक धनी बन्ने मेसो भयो । ११ बजे भनेको थियो हामी १२ बजे आयौँ । हामी यति चाडै आउँदा पनि उहाँहरुले ढोकामा ताला लाउनुभयो ।’ अर्का सेयरधनी छत्रबहादुर बस्नेतले भने ।
बैंकले प्रवेशको लागि निश्चित समय नै नतोकेर मनपरी ढंगले एजिएम सम्पन्न गर्न खोजेको भन्दै सेयरधनीहरु आक्रोशित भएका हुन् । ‘भित्र एजिएम भइरहेको छ । हामी सेयरधनीले प्रवेश नपाउने ? यस्तो पनि हुन्छ कहीँ ? म लगनखेलबाट आएको हुँ । अर्को एजिएममा पसेर आएको हुँ । सेयरधनी नै नआई एजिएम सम्पन्न हुन्छ ? अन्य ठाउँमा त भित्रबाट ताल्चा लगाएर सेयरधनी बाहिरै राखेको त थाहा थिएन ।’ अर्का सेयरधनी गर्जिए ।
बैंकहरुले एजिएम जुधाउँदा उक्त समस्या उत्पन्न भएको सेयरधनीहरुको दाबी छ । बैंकहरू एजिएम जुधाउँन खोज्छन् । ताकी सेयरधनीहरु नआउन । सेयरधनीहरुले लफडा गर्ने भएकै कारण एजिएम जुधाउनुपरेको बैंकरहरु नै बताउँछन् ।
बैंकका मालिक भनेको जनता हुन् । तर बैंकहरु आफू मालिक बनेर शासन गरेको सेयरधनीको आरोप छ ।
आज मात्रै ६ वाणिज्य बैंकसहित ११ कम्पनिले साधारणसभा बोलाएका थिए । अधिकाशं कम्पनीको साधारणसभा ११ बजे सुरु भएको थियो ।
हाल हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ छन् भने प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शम्सेर जंगबहादुर राणा रहेका छन् ।
अर्थ सन्जाल