

चार कम्पनीको वार्षिक साधारण सभा आज (मंगलवार) हुँदै छ । लुम्बिनी विकास बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट, मैलुङ्ग खोला जलविद्युत कम्पनी र त्रिशूली जलविद्युत कम्पनीले आज साधारणसभा गर्न लागेका हुन् ।
लुम्बिनी विकास बैंक लिमिटेड
लुम्बिनी विकास बैंक लिमिटेडले १५औं वार्षिक साधारण सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु गर्नेछ। सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेतका लागि ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले संस्थापक सेयरधनीहरूका तर्फबाट तीनजना र सर्वसाधारण सेयरधनीको तर्फबाट तीनजना गरी ६ जना सञ्चालकहरूको निर्वाचनसमेत गर्नेछ ।
संस्थापक समूहको रिक्त स्थानमा बाँकी कार्यकालका लागि नयाँ सञ्चालक लोमस मानन्धरको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले अर्पण ब्यांक्वेट थापागाउँ नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजे सभा सुरु हुनेछ । सभाले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते एक बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीमात्र साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।
मैलुङ्ग खोला जलविद्युत कम्पनी
मैलुङ्ग खोला जलविद्युत कम्पनीले नवौं वार्षिक साधारण सभा लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै कम्पनीको ठेगाना परिवर्तन भएको हुँदा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नेसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ ।
त्रिशूली जलविद्युत कम्पनी लिमिटेड
त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले एघारौं वार्षिक साधारण सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनीमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा ‘घ’ मा व्यवस्था भएबमोजिम जारी पूँजी रू. २ अर्ब ४७ करोडमध्येबाट समूह ‘ख’ मा रहने सर्वसाधारण समूहको लागि छुट्याइएको सेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
अर्थ सन्जाल