

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले खस्किँदो अवस्थामा रहेको मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार र राष्ट्र बैंकले मुख्यगरी तीन वटा विषयमा ध्यान पुर्याउनुपर्ने बताएका छन् ।
काठमाडौँमा आज आयोजित ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु लिमिटेडको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
“पहिलो, सरकारी खर्च बढ्नुपर्यो । दोस्रो, मौद्रिक नीति कसिलो मात्र नभई लगानीको व्यावसायिक जोखिम समेतलाई हेरेर लचिलो हुनुपर्छ । तेस्रो, निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाइनुपर्छ”, गोल्छाले भने ।
सरकारको विकास खर्च नबढेसम्म अर्थतन्त्रमा सकारात्मक प्रभाव नदेखिने उनको भनाइ छ । बैंक वित्तीय संस्था अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै अध्यक्ष गोल्छाले बैंकले गर्ने नाफालाई उनीहरुको लगानीसँग पनि जोडेर हेर्नुपर्ने धारणा राखे ।
अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाएसम्म देशमा समृद्धि सम्भव नरहेको पनि बताए।
अर्थ सन्जाल