

अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने अछामका पृथ्वी शाह पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शाहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद लिएको छ । अमेरिकाबाट भित्र्याइएको शंकास्पद रकमको अनुसन्धान गर्न शाहसहितका व्यक्ति पक्राउ गरिएको ब्युरोका प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।
पक्राउ पर्नेमा शाहसहित अछाम बन्निगढी घर भई हाल काठमाडौंको चावहिल बस्ने विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिमनवरपराससीका रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन् । विजयविक्रम पृथ्वी शाहका भाइ हुन् ।
आरोपितविरुद्ध ‘हन्टिङ रिजर्भ अफ नेपाल प्राईभेट लिमिटेड’ लगायत दर्जनौं कम्पनीका नाममा विदेशबाट शंकास्पद रुपमा रकम भित्रिएको भेटिएपछि अनुसन्धान अघि बढेको हो । यी कम्पनीले विदेशी मुद्रा कारोबारको अनुमति नलिएको, तोकिएको सर्तविपरित कारोबार गरेको लगायतका आरोप लगाइएको छ ।
त्यस्तै अमेरिकी नागरिक जुलिया होडेज लगायत विदेशीसँग एन्टी भाइरस नवीकरण वापत्को रकम पठाउन भन्दै झुक्याएको र जुलियाको कम्प्यूटरमा अनधिकृत पहुँच पुर्याई अमेरिकी डलर ट्रान्सफर गरेको त्यसक्रममा वायर स्क्याम गरी स्वीफ्ट मार्फत् अमेरिकी डलर ४६ लाख ४६ हजार ७ सय ३७ र नेपाली ३ करोड २२ लाख २८ हजार ६ सय ८० र पाउण्ड स्टर्लिङ १२ हजार ८ सय २५ को शंकास्पद कारोबार गरेको पाइएको ब्युरोले जनाएको छ ।
शाहले करिब ६५ करोड रुपैयाँ बराबरको कारोबार गरेको प्रारम्भीक अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले बताएका छ । सीआईबीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शाहले ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर (हालको विनिमय दर अनुसार ६१ करोड ३३ लाख ७९ हजार २८४ रुपैयाँ), १२ हजार ८२५ पाउण्ड स्टर्लिङ डलर (हालको विनिमय दर अनुसार २० लाख ४३ हजार ५३५ रुपैयाँ) र ३ करोड २२ लाख २८ हजार ६८० रुपैयाँ शंकास्पद कारोबार गरेका हुन् ।
यसअघि सार्वजनिक विवरण अनुसार उक्त करोबारमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको संरक्षण रहेको छ । नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा परेका पृथ्वीबहादुर शाहको शंकास्पद कारोबारको रकम फुकुवा गर्न अर्थमन्त्री शर्माले उक्त निकायहरुलाई हस्तक्षेप गरेका थिए ।
अर्थ सन्जाल