भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मारिने सक्ने धम्की दिएकी छन्।
जनता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन् ।
बलिदानी दिवस मनाउन गौर पुगेकी यादवलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । अवरोध छिचोल्दै कार्यक्रमस्तलमा पुगेकी यादवले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी हुन् ।
७ चैत २०६३ मा राइसमिलमा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो । मन्त्री यादवले सम्बोधनका क्रममा राइस मिल घटना नबिर्सन आग्रह गरिन् ।
‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस्’उनले भनिन् ।
हिम्मत भए सिंहदरबार घेराउ गरेर देखाउन समेत राउतलाई मन्त्री यादवले चुनौती दिएकी छन् ।