

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा बिग मर्जरको लहर चलेको छ । वाणिज्य बैंकहरु एकपछि अर्को मर्जर जाने सम्झौता गरिरहेका छन् । वाणिज्य बैंक मात्र होइन लघुवित्त र बीमा कम्पनीहरु पनि धमाधम मर्जर सम्झौतामा जुटिरहेका छन् ।
अधिकांश बैंक तथा वित्तीय संस्थाले मर्जर प्रक्रियामा अन्तिम रुप दिएर एकीकृत कारोबार साइत जुराएका छन् भने केही बैंकले एकीकृत कारोबार नै सुरु गरिसकेका छन् । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेर गत असार २७ गतेदेखि नै एकीकृत कारोबार सुरु गरिसकेको छ ।
नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत कारोबार सुरु गरेको हो । नेपाल बंगलादेश बैंक १००ः४२ को स्वाप रेसियोमा नबिल बैंकसँग बिलय भएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाएर वित्तीय क्षेत्रलाई सबल बनाउँदै आफ्नो नियामकीय क्षमता बढाउने नीति लिएको राष्ट्र बैंकले बिग मर्जरलाई प्रोत्साह गर्दै नीतिगत सहुलियतको घोषणा गरेको थियो ।
जसअनुसार वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा एकीकृत कारोबार विभिन्न सहुलियत उपभोग गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । नबिल बैंकले गत वर्ष नै नेपाल बङ्गलादेश बैंकलाई गाभेर राष्ट्र बैंकको सेवा सुविधा लगायतका छुट उपभोग गरिसकेको छ ।
यस्ता छन् पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने बैंकले पाउने सुविधा
२०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा वाणिज्य बैंकहरुले काठमाडौं उपत्यकाबाहेकका महानगरपालिका र उपमहानगरपालिकामा एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म शाखा कार्यालय खोल्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने छैन ।
त्यसैगरी, पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्ने बैंकहरुले काठमाडौं उपत्यका बाहिर तीनवटा शाखा खोली सञ्चालनमा ल्याएपश्चात एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म काठमाडौं उपत्यकामा एक शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने छैन ।
२०७९ पुस मसान्तभित्र गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंक अपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एकपटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त तथा पुनः नियुक्त हुन बाधा पर्ने छैन ।
वाणिज्य बैंकहरु आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा यस बैंकबाट तोकिएको कुल निक्षेपमा सरकारी संस्था एवं संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एव स्थान मातहत सञ्चालित कोषहरुको निक्षेपको अंश प्रति संस्था १० प्रतिशत विन्दुले थप गरिनेछ ।
पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा राष्ट्र बैंकबाट तोकिएको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नुपर्ने समयावधि एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म थप गरिनेछ ।
बैंकहरुलाई एकीकृत कारोबार गर्न चटारो
चालु आर्थिक वर्ष २०७९/८० मा झण्डै एक दर्जन बैंकहरुले मर्जर सम्झौता गरे । ती एक दर्जन बैंक मर्ज भएर आधा दर्जनमा सीमित बन्दै छन् ।
मर्जरपछि कुमारी बैंक र एनसीसी बैंकले भने एकीकृत कारोबार सुरु गरिसेका छन् । मर्जरपश्चात यी दूई बैंकले कुमारी बैंक लिमिटेडको नाममा पुस १७ गतेबाट एकीकृत कारोबार थालनी गरेका हुन् ।
अन्य बैंकहरू पनि धमाधम एकीकृत गर्नका लागि जुटेका छन् । बैंकहरुले यहि पुस मसान्तभित्र नै एकीकृत कारोबार थालनी गर्ने तयारीमा छन् ।
प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंक मर्ज भएर प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भएर ग्लोबल आइएमई बैंकका रूपमा पुसभित्र एकीकृत कारोबार गर्न मिति तय गरिसकेका छन् ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि नै एकीकृत कारोबार गर्ने तयारीमा जुटेका छन् । यी दुई बैंक समान हैसियत अर्थात १ः१ अनुपातको स्वाप रेसियोमा एक आपसमा गाभिंदैछन् । दुबै मर्जर पछि चुक्तापूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । पुँजीको हिसाबले सबैभन्दा ठूलो बैंक बनेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले मर्जर प्रक्रियालाई टुंग्याइसकेको छ । यी दुवै बैंकले पुस २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । यी दुई बैंक १००ः९० स्वाप रेसियोमा मर्ज हुन लागेको हो । जस अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ । यी दुवै बैंकले गत जेठ २७ गते एक आपसमा मर्जरमा जान सहमति गरेका थिए ।
प्रभु बैंक र सेञ्चुरी बैंकबीच पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने तयारी रहेको छ । यी २ बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । दुबै बैंकबीच समान अर्थात् १ः१ अनुपातको रेसियोमा मर्ज हुने सहमति भएको छ ।
हिमालयन बैंक र सिभिल बैंकले पनि मर्जर भएर माघ तेस्रो साता एकीकृत कारोबार गर्ने गरी तयारी गरिरहेका छन्। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान दिएको समयसीमा पुस मसान्तमा सकिँदैछ । तर यी दुवै बैंकले आगामी माघ १८ गतेभित्र एकीकृत कारोबार थालनी गर्ने तयारी थालेका छन् ।
हिमालयन बैंकले १००ः८१ को स्वाप रेसियोमा सिभिल बैंकलाई प्राप्ति गर्ने गर्दैछ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न गत असार २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।
मर्जर प्रक्रिया रहेका हिमालयन र सिभिलको वार्षिक साधारण सभा पुस २८ गते हुने र उक्त साधारण सभाले मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।
वाणिज्य बैंकहरु एकपछि अर्को मर्जर जाने सम्झौता गरिरहेकाबेला लक्ष्मी बैंक र सनराइज बैंक पनि मर्जरमा जाने भएका छन्। दुई बैंकबीच मर्जरमा जाने विषयमा छलफल भएको हो ।
दुई बैंकबीच अर्को साता गाभ्ने गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । मर्जरपछि बन्ने बैंकको नाम भने सहमति जुट्न बाँकी छ।
लक्ष्मी बैंकले यसअघि माछापुच्छ्रे बैंकसँग मर्जरमा जाने छलफल गरेको थियो । त्यहाँ कुरा नमिलेपछि लक्ष्मीले सनराइनसँग यो प्रक्रिया अघि बढाएको हो।
त्यस्तै, एभरेष्ट बैंक र लक्ष्मी बैंकको मर्जर पनि भाँडिएको थियो । विगत लामो समयदेखि जारी एभरेष्ट र लक्ष्मी बैंकबीचको मर्जर अन्तिम अवस्थामा सेयर स्वाप रेसियोमा कुरा नमिल्दा भाँडिन पुगेको थियो ।
२५ बाट १८ मा झर्दै वाणिज्य बैंक
मर्जर प्रकियामा गएका बैंकहरुले एकीकृत कारोबार थालनी गरेसँगै नेपालमा वाणिज्य बैंकको संख्या २५ बाट १८ मा झर्नेछ । यद्यपि लक्ष्मी र सनराइज बैंकको भने प्रारम्भिक सम्झौता जुट्न बाँकी छ ।
यस अलावा अन्य बैंकले एकीकृत कारोबार गरेपश्चात वाणिज्य बैंकको संख्या १९ मा झर्ने निश्चित छ । राष्ट्र बैंकले गरेको ‘नेपालमा बैंक तथा वित्तीय संस्थाको उपयुक्त संख्या’ विषयक अध्ययनले नेपालमा बढीमा १५ वटा वाणिज्य बैंक भए पुग्ने निष्कर्ष निकालेको थियो ।
सरस्वती अधिकारी