

नेपाल बीमा प्राधिकरणले छनोट गरेका ७ लघु बीमा कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गराएका छन् ।
प्राधिकरणले भदौ १० गते सार्वजनिक सूचना आह्वान गरेर लघु बीमा कम्पनीको लागि लाइसेन्स आह्वान गरेको थियो । यसरी आवेदन आह्वान गर्दा ३१ वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए । ३१ वटा कम्पनी मध्येबाट प्राधिकरणले लघु जीवन बीमा व्यवसायका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स र लिवर्टी माइक्रो लाईफ इन्स्योरेन्सलाई लाइसेन्स दिने निर्णय गरेको थियो ।
त्यस्तै निर्जीवन तर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई अनुमति दिएको थियो । प्राधिकरणका अनुसार सात वटैले कम्पनी रजिष्ट्रारमा कम्पनी दर्ता गरेर आएका छन् ।
अब प्राधिकरणले उनिहरुको प्रवन्धपत्र र नियमावली लगायतका विवरणको अध्ययन गर्नेछ । सबै विवरणको अध्ययन गरे पछि प्रवन्धपत्र अनुसार कायम गरिएका सेयरधनीहरुलाई पूँजी जुटाउन समय दिनेछ ।
उक्त लघु बीमा कम्पनीहरुले आगामी ६ महिना भित्र आफ्नो कार्य संचालनमा ल्याइसक्नु पर्ने प्रावधान छ । अन्य बीमा कम्पनीहरुको चुक्ता पूँजी बढी भए पनि हाल लघु बीमा कम्पनीहरु भने जम्मा ७५ करोड रुपैयाँमा खोल्न सकिने व्यवस्था छ ।
अर्थ सन्जाल