

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट फर्कने नेपाली युवाहरुलाई अतिरिक्त मोबाइल ल्याउन सहज हुनेगरी नीति तथा कानुनी जटिलता फुकाउन अर्थमन्त्रालयलाई निर्देशन दिएका छन् । विदेशबाट नेपाल फर्कँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको समस्याबारे तत्काल छानबिन गर्न भन्दै प्रधानमन्त्री प्रचण्डले यसलाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाईसमेत फुकाउने निर्देशन दिएका हुन् ।
‘विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको छ’, प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुई वटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाईसमेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’
प्रधानमन्त्रीको निर्देशन विपरीत सोमबार मात्रै विमानस्थलका कर्मचारीले विदेशबाट फर्कँदा ल्याएको एक अतिरिक्त मोबाइल कर्मचारीले नियन्त्रणमा लिएको घटना सार्वजनिक भएको थियो । अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका डीएल नेम्वाङले ल्याएको थप एउटा मोबाइल भन्सारले जफत गरेको थियो । उनीजस्ता धेरैले विमानस्थलमा यस्ता समस्या भोग्ने गरेका छन् ।
गत शुक्रबार प्रधानमन्त्री प्रचण्डले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिएका थिए । उनको सो निर्देशनपछि पनि भन्सारका कर्मचारीले निजी प्रयोजनका मालवस्तुसम्बन्धी आदेशलाई लिएर प्रयोग गरिरहेको एउटाबाहेक अर्काे मोबाइल ल्याएमा भन्सार तिराउनका लागि जफत गर्ने गरेका छन्।
अर्थ सन्जाल