

उपप्रधान तथा गृमन्त्री रवि लामिछानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र सुरक्षा प्रमुखहरुहरुको संयुक्त बैठक बोलाएका छन् । मन्त्री लामिछानेको निर्देशनमा गृह मन्त्रालयले सोमबार बिहान ९ बजेका लागि ७७ वटै जिल्लाका प्रजिअ र जिल्ला सुरक्षा समितिमा रहेका सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख सम्मिलित भर्चुअल बैठक आह्वान गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सोमबारको भर्चुअल बैठक देशभरको प्रशासनिक र सुरक्षा अवस्थाबारे प्रजिअ र जिल्लास्थित सुरक्षा प्रमुखहरुबाट जानकारी लिने, जिल्लाको अवस्थाबारे कुरा सुन्ने अनि प्रशासनबाट प्रवाह गरिने सेवा प्रवाहलाई थप चुस्त बनाउन आवश्यक निर्देशन दिनेमा केन्द्रित हुने बताएका छन् । साथै राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन आम नागरिकले खेप्नु परेका समस्या, त्यसको समाधानका लागि प्रशासनबाट गर्नुपर्ने पहल र समन्वय, बजार अनुगमन, शान्तिसुरक्षाको अवस्था, सीमा प्रशासनलगायत विषय भर्चुअल बैठकमा उठ्ने बताइएको छ ।
पुस ११ गते उपप्रधान तथा गृहमन्त्रीको पदभार ग्रहण गरे लगत्तै लामिछानेले गृह प्रशासनबाट हुने कामकारबाहीलाई प्रभावकारी बनाउन आफू लागि पर्ने बताएका थिए । पदभार सम्हालेयता उनले सुरक्षा कार्यविधि विपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता, पूर्व सहमति नलिई मातहतका सुरक्षा निकायका अधिकारीलाई कूटनीतिक र राजनीतिक भेटघाटमा प्रतिबन्ध र राहदानी लिन आम नागरिकले बेहोर्दै आएको सास्ती अन्त्य कसरी गर्न सकिन्छ भनेर राहदानी विभागको स्थलगत निरीक्षण पनि गरेका थिए ।
अर्थ सन्जाल