

फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको आयोजनामा १६औँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । एशोसिएसनले यही पौष २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा उक्त प्रदर्शनी गर्न लागेको हो । उक्त मेला पौष २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुनेछ ।
१६ औँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी-२०७९ आयोजनाले स्वदेशी उत्पादनका बारेमा नेपाल डिलर, होलसेलर तथा खुद्रा व्यापारीहरूलाई आफ्ना उत्पादनबारेमा जानकारी गराउन सकिने आयोजकले जनाएको छ ।
विदेशी जुत्ता चप्पल तथा छालाका वस्तुहरूको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका वस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई आत्म निर्भर बनाउन पनि यो प्रदर्शनीले सहयोग गर्ने विश्वास आयोजकले लिएको छ ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न प्रदर्शनीको माध्यमबाट व्यापक प्रचारप्रसार गरी बाह्य बजार समेत विस्तार गर्ने रणनीतिक पहल गर्नका लागि यो पदर्शनी गर्न लागिएको एशोसिएसनका अध्यक्ष नानिराज घिमिरेले बताए ।
उद्यमी बिच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउने वातावरण तयार गर्नु मेलाको उद्देश्य भएको एशोसिएसनका उपाध्यक्ष सुरज बन्जाडेले बताए ।
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने यस अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीका विशेषता रहेको छ । प्रथम पटक बी एन्ड बी सेल्स हुने, विदेशी डिलर होलसेलरलाई प्रदर्शन अवधिभर होटेल सुविधा सहित आमन्त्रण गरिएको जसको परिणाम स्वरूप नेपाली उत्पादनको विदेश निर्यातको सम्भावना रहेको र देश भरीबाट ४० हजारदेखि ५० हजार उद्योगी, डिलर, होलसेलर र खुद्रा व्यापारीहरूको सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
यस प्रदर्शनीमा विदेशी कच्चा पदार्थ, मेशिनरी र प्रविधि सहितको ४० भन्दा बढी कम्पनीका स्टल रहने र नेपाली फुटवेयरका १० कम्पनी सहभागी हुनेछन् । तीन सयभन्दा धेरै सरकारी, गैरसरकारी, व्यावसायिक संघसस्थाहरु, विदेश स्थित कूटनैतिक नियोग र राज्यका नितिनिर्माण तहका संस्था तथा व्यक्तित्वहरूलाई प्रदर्शनी अवलोकन गराउने उद्देश्य राखिएको छ । यो प्रदर्शनीमा नेपालमा फुटवेयर तथा छालाजन्य सामाग्री उत्पादन विधि कच्चा पदार्थको गुणस्तरको पनि जानकारी गराइनेछ ।
अर्थ सन्जाल