

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले कुलुङ समुदायलाई फरक जातका रुपमा सूचीकृत गरिनुपर्ने माग गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित मिनारी दाचाम् चासुम्लो निङदोङ चाक्चाकुर चाडका अवसरमा शुभकामना दिँदै कुलुङ समुदायको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए । चाक्चाकुर पर्व पुस १५ देखि तीन दिनसम्म मनाइन्छ ।
उनले भने, ‘मुलुकको सभ्यता र संस्कार सिकाउने जाति हो कुलुङ । यो समुदायको संरक्षण गर्नु राज्यको दायित्व हो । उहाँहरुलाई फरक जातका रुपमा सूचीकृत गरिनुपर्छ ।’ उनले धार्मिक र सांस्कृतिक विविधताका लागि सबै जात र समुदायको संरक्षण गर्न आफू लागेको समेत दाबी गरे ।
चाक्चाकुर चाडका अवसरमा शुक्रवार काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने कुलुङ समुदाय भेला भई शुभकामना आदानप्रदान गरेका छन् । ‘मिनारी अर्थ पाखुरी र दाचामको अर्थ अन्न भण्डारणको प्रयोग गर्ने पहिलो दिन हो । यस दिन अन्नको विभिन्न परिकार बनाएर खाने र पितृलाई सम्झने गरिन्छ’, किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ काठमाडौं उपत्यका कार्यसमितिका अध्यक्ष घनश्याम कुलुङले बताए ।
चाक्चाकुर चाड खाद्यान्न भण्डारण गरिएको अन्न उपभोगले स्वास्थ्यमा प्रतिकूल असर नगरोस् र सबैको सुख शान्तिका लागि कुलुङ समुदायले चाक्चाकुर चाड मनाउने गर्छन् ।
आज किराँत यलेदोङ पात्रका अनुसार ५०८२ को अन्त्य र येलेदोङ ५०८३ सुरु भएको छ । ।नयाँ वर्षको अवसरमा किरात कुलुङ विद्यार्थी संघले पाचौँ महाधिवेशन पनि सम्पन्न गरेको छ ।
कुलुङ समुदायको उद्गमस्थल सोलुखुम्बुको माहाकुलुङमा गाउँपालिका भएको र मुख्यगरी संखुवासभा, भोजपुर र इलामलगायत जिल्लामा ठूलो समूदायमा बसोबास गरेको पाइन्छ । रासस
अर्थ सन्जाल