

काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ। यहाँको न्यूनतम तापक्रम आज ४.५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार काठमाडौँको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस मापन गरिएको थियो। केही दिनयतादेखि काठमाडौँ सहित देशभरकै तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ। पुस लागेसँगै देशभर चिसो बढेको छ।
यसैगरी आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५.६ डिग्री सेल्सियसमा झरेको छ भने जोमसोमको माइनस ६.१ र जिरीको माइनस शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिइन्।
नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यही प्रभावका कारण आज पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद् भट्टराईले बताइन्। उनका अनुसार आज सुदूपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बदली हुने अनुमान गरिएको छ।
काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा भने मौसम आंशिक मात्रै बदली हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शनिबार कास्की, खोटाङ र म्यादीका केही ठाउँमा पानी परेको थियो। कास्कीको माछापुच्छ्रे बेस क्याम्पमा गरिएको मापनअनुसार त्यहाँ ३.६ मिलिमिटर, म्यादीको घोरेपानीमा १.५ मिलिमिटर र खोटाङको दूधकोकोसीमा २ मिलिमिटर पानी परेको मापन गरिएको छ।
अर्थ सन्जाल