

मंसिर ४ मा सम्पन्न आमनिर्वाचनको अन्तिम नतिजा आइसकेपछि अब ‘नयाँ सरकार कस्तो बन्ला ? राष्ट्रपति र उपराष्ट्रपति को बन्लान् वा कसलाई बनाइएला भन्ने विषय यतिबेला प्राथमिकतामा छ । अहिले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रप्रमुख बनाउने विषयमा बहस चलिरहेको छ । अहिले एक दर्जन नेताहरु राष्ट्रपति बन्न लालायित देखिएका छन् । साथै यसको लागि बिधि र प्रक्रिया के के छन् भन्ने बिषयमा पनि चर्चा चलिरहेको छ ।
राष्ट्रपति बन्न कस्ता व्यक्ति योग्य ?
संविधानको भाग–६ मा राष्ट्रपति र उपराष्ट्रपति चयन हुने प्रक्रिया र उनीहरूको योग्यताबारे उल्लेख छ । उक्त भागको धारा ६१ मा राष्ट्रपति राष्ट्रध्यक्ष रहने र निजले राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको पालन र संरक्षण गर्नुपर्ने उल्लेख छ ।
यसैगरी धारा ६४ मा कस्ता व्यक्ति राष्ट्रपति हुनसक्छ भन्ने कुराको स्पष्ट व्यवस्था गरेको छ । संघीय संसदको सदस्य हुन योग्य भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, र कुनै कानूनले अयोग्य नभएको व्यक्तिलाई राष्ट्रपतिका लागि संविधानले योग्य मानेको छ । तर सोही धाराको उपधारा २ मा दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति पुनः राष्ट्रपति बन्ने बाटो बन्द गरिदिएको छ । उपराष्ट्रपतिका हकमा पनि सोही योग्यता लागु हुने संविधानको धारा ६९ मा व्यवस्था छ ।
संविधानको धारा ७० ले चाहिँ राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिङ्ग वा समुदायको हुने व्यवस्था गरेको छ । त्यसको अर्थ महिला राष्ट्रपति भए पुरुष उपराष्ट्रपति वा पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्छ । समुदायका हकमा नेपालको जातीय समुदाय अनुसार फरक–फरक समूहको हुनुपर्छ ।
यसैगरी नेपालको संविधानको धारा २८९ ले राष्ट्रपति र उपराष्ट्रपतिसहित सङ्घीय र प्रदेशतर्फका उच्च पदहरूमा वंशजका आधारमा नेपालको नागरिकता पाएका व्यक्ति मात्र हुन पाउने व्यवस्था गरेको छ । प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र सुरक्षा निकायका प्रमुख पदमा पनि निर्वाचित, मनोनित वा नियुक्ति हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने व्यवस्था उक्त धारामा गरिएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ मा राष्ट्रपतिको योग्यताबारे स्पष्ट व्यवस्था गरिएको छ । ऐनको दफा १२ अनुसार राष्ट्रपतिको उम्मेदवार हुनका लागि लागि संघ, प्रदेश तथा स्थानीय तह तथा सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका कुनै संस्थामा पारिश्रामिक पाउने गरी बहाल नरहेको हुनुपर्ने छ । यसैगरी भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहादानी दुरुपयोग, अपरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने व्यक्ति राष्ट्रपतिका लागि अयोग्य हुने उल्लेख छ ।
कसरी चुनिन्छन् राष्ट्रपति ?
राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था संविधानको धारा ६२ मा गरिएको छ । उक्त धारामा गरिएको व्यवस्था अनुसार राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यहरू मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । सङ्घीय संसद्का सदस्य र प्रदेसभाका सदस्यको मतभार सङ्घीय कानुन अनुसार फरक हुने व्यवस्था संविधानमा छ ।
सोही धाराको उपधारा २ बमोजिम कुनै प्रदेशसभाको निर्वाचन नभएकै कारण राष्ट्रपति चयन प्रक्रियाले नरोकिने व्यवस्था गरिएको छ । त्यसमा भनिएको छ, ‘उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रदेशमा प्रदेशसभाको निर्वाचन नभएका कारणले मात्र राष्ट्रपतिको निर्वाचन प्रयोजनका लागि निर्वाचक मण्डल गठन गर्न बाधा परेको मानिने छैन ।’
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार मतभार निकाल्दा सङ्घीय संसद्मा रहेका कुल सदस्य सङ्ख्याले नेपालको पछिल्लो जनसङ्ख्यालाई भाग गर्दा आउने भागफल सङ्घीय संसद्तर्फको मतभार हुनेछ । त्यस्तै प्रदेशसभाका कुल सदस्य सङ्ख्याले पनि नेपालको पछिल्लो जनसङ्ख्यालाई भाग गरेर आउने भागफल नै प्रदेशसभातर्फको मतभार हुनेछ ।
कानुनी व्यवस्था अनुसार सङ्घीय संसद्का सदस्य भन्नाले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैलाई जनाउँछ भने प्रदेशसभाका सदस्य भन्नाले सातवटै प्रदेशसभाका सदस्यहरू जनाउँछ । सङ्घीय संसद्तर्फ प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ गरी कुल ३३४ सदस्य हुन्छन् भने सातवटा प्रदेशसभामा गरी कुल ५५० सदस्य हुन्छन् ।
संविधान अनुसार सङ्घीय र प्रदेशसभातर्फका तत्काल कायम रहेका कुल सदस्य सङ्ख्याको बहुमत अर्थात् ५० प्रतिशत मत ल्याउने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ । यदि पहिलो निर्वाचनमा कसैले ५० प्रतिशत मत नल्याए सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन्छ र बहुमत ल्याउने व्यक्ति राष्ट्रपति बन्छन् ।
दोस्रो निर्वाचनमा पनि ५० प्रतिशत कसैले ल्याउन नसकेमा पुनः मतदान हुन र त्यसमा जसले कुल सदर मतको सबैभन्दा बढी मत प्राप्त गर्छ उही व्यक्ति राष्ट्रपति हुनेछ । दुई वा सोभन्दा बढी उम्मेदवारको मत बराबर भएमा निर्वाचन अधिकृतले त्यस्ता उम्मेदवारहरूबीच गोला हाली निर्णय गर्ने र सो निर्णय बमोजिम छानिएको उम्मेदवारले एक मत बढी प्राप्त गरेको मानिने ऐनमा व्यवस्था छ ।
अर्थ सन्जाल