

काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच (५) पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको हाे ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार निलम्बनका लागि पठाइएकामा सबै भन्दा धेरै ४४ पटक कारबाहीमा परेका व्यक्तिकाे छ । यस्तै ३५ पटक कारबाहीमा परेका १ जना, २४ पटक परेका ३ जना, १४ पटक परेका १ जना, १२ पटक परेका ७ जना, ७ पटक परेका २ जना र ६ पटक कारबाहीमा परेका ४५ जना गरी जम्मा ६० सवारी चालक अनुमतिपत्र निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको हो ।
उनीहरुले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको थियो । ट्राफिका नियम उल्लघंन गरीरहने चालकहरु बाट नै सवारी दुर्घटना भएको तथ्याङकले समेत देखाएको छ । सवारी दुर्घटनामा परेका अधिकांश सवारी चालक यस अघि पनि पटकपटक कारबाहीमा परेको भट्टले बताए ।
अर्थ सन्जाल