

करार सम्झौता सकिएका क्याबिन क्रुहरुलाई जागिरबाट ननिकाल्ने नेपाल वायुसेवा निगमले बचन दिएको आन्दोलित क्याबिन क्रुहरु काममा फर्किएका छन् । करार अवधि सकिएपछि जागिरबाट निकालिएकी स्मिता गुवाजु र आरती महर्जनलगायत सबै ‘क्याबिन क्रु’ को जागिरको सुरक्षा गर्न निगमको व्यवस्थापनले सम्झौता गरेपछि दुई दिनदेखि जारी क्याबिन क्रुको हड्ताल स्थगित भएको हो ।
क्याबिन क्रु संघ नेपाल र निगमबीच सबैको करार मिति एकै दिन (पुस १ गते) बाट सुरु हुने र सबैको करार अवधिमा एकरुपता (तीन वर्ष) रहने सम्झौता भएपछि आन्दोलन स्थगित गरेर काममा फर्कन क्याबिन क्रुहरु तयार भएका हुन् ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सबै क्याबिन क्रु को करार समयमा एकरुपता कायम गर्ने तथा क्याबिन क्रुको सम्बन्धित समस्याबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन अमृत थापाको नेतृत्वमा अध्ययन उपसमिति पनि बनाइएको जानकारी दिए ।
क्याबिन क्रु’हरुको आन्दोलनका कारण निगमको बिहीबार निर्धारित तीन वटा अन्तर्राष्ट्रिय उडान प्रभावित भए । बिहीबार साउदी अरेबियाको रियाद र भारतका दुई शहर बैङ्लोर र नयाँ दिल्लीका लागि निर्धारित उडानहरु प्रभावित बने । क्याबिन क्रुहरुकै आन्दोलनले बिहीबार निर्धारित आन्तरिकतर्फका ५ उडान पनि प्रभावित बने ।
क्याबिन क्रुलाई रेष्ट दिँदा मलेसिया र दुबई पुगेका दुईवटा जहाजसमेत उत्रै रोकिन पर्यो । ती दुवै जहाजमा उडेका क्याबिन क्रुको ड्युटी समय १० घन्टा नाघेका कारण उनीहरुलाई आरम दिइँदा जहाज विदेशमै रोकिनु परेको हो । अन्तर्राष्ट्रिय उड्डयन नियमले १० घन्टाभन्दा बढी काम लगाउन निषेध गरेका छ ।
अर्थ सन्जाल