

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताएका छन । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बजारमा अहिले तरलतामा केही सहज भइरहे पनि पुस महिनामा भने तरलतामा चुनौती आउने बताएका हुन् । तरलताको चुनौतीलाई समाधान कसरी गर्ने भन्ने बारेमा राष्ट्र बैंक लागिपरेको उनको भनाइ थियो ।
गभर्नर अधिकारीले गएको आर्थिक वर्षमा राष्ट्र बैंकले तरलता सहजताका लागि ९७ खर्ब रुपैयाँ बजरमा पठाएको भन्दै राष्ट्र बैंकले आवश्यक कामहरू गरिरहे पनि अझै बजारमा सहजता भने भइनसकेको बताए।
‘बजारमा तरलतामा केही सहजता भइरहेको छ । सधैँ सहजता रहँदैन । पुसमा हामीलाई चुनौती रहन्छ । क्यालेन्डरअनुसार पुस महिनामा ३० अर्बको इस्यु छ । तर हामी कसरी तरलताको असरलाई सहज गर्ने भन्ने कुरामा लागिपरेका छौँ । हामीले आफ्नो क्षेत्रबाट गर्नुपर्ने काम गरिरहेका छौँ । तैपनि बजारमा त्यो खालको सहजता भइरहेको छैन । कारण भनेको बीओपी हो । पछिल्ला दिनमा राम्रो खालको रेमिट्यान्स इन्फ्लो पाइरहेका छौँ । जसको असरस्वरूप हामीलाई तरलतामा सहजता भएको छ । यसलाई अझै सहज बनाउन एक खालको रिसाइक्लिङ बजारमा हुन जरुरी छ । लगेको ऋण केही न केही कोषमा तिरिनुपर्छ, तबमात्र तरलता सहज हुन्छ । बजारलाई हामी सहज बनाउँछौँ नै । तर बजारमा भएको अनुशासनहीन, फाइनान्सियल क्षेत्रमा भएको विकृतिहरूलाई अफ्ठ्यारो बेलामा सुधार्नु हुँदैन भन्न थाल्यौँ भने कहिल्यै सुधार हुँदैन , झन् गाह्रो पर्छ ।’ उनले भने
राष्ट्र बैंक निजी क्षेत्रसँग खुला छलफल र सहकार्य गर्न तयार रहेको उनको भनाई थियो । उनले अहिले आयात खुला गरिएको र अर्थतन्त्रलाई सन्तुलन गर्न विभिन्न नीति ल्याइएको समेत बताएका छन् ।
अर्थ सन्जाल