

डलर अर्बपति विनोद चौधरीले श्रीलङ्काको युनियन बैंक अफ कोलम्बोको झन्डै ७१ प्रतिशत सेयर खरिद गरेका छन् । श्रीलङ्काको आठौं ठूलो बैंकका रुपमा स्थापित युनियन बैंकको ७०.८४ प्रतिशत सेयर चौधरीले खरिद गर्ने सम्झौता गरेका हुन् ।
चौधरी ग्रुपले सिंगापुरमा रहेको “सीजी क्यापिटल पार्टनर्स ग्लोबल प्रालि” का माध्यमबाट युनियन बैंकको ७०.८४ प्रतिशत सेयर खरिद गर्ने सम्झौता गरेको हो ।
युनियन बैंक अफ श्रीलङ्काका अनुसार गत नोभेम्बर ३० मा भएको सम्झौता अनुसार बैंकमा रहेको “कल्चरल फाइनान्सियल होल्डिङस लिमिटेड” को सबै सेयर “सीजी क्यापिटल पार्टनर्स ग्लोबल प्रालि” ले खरिद गर्ने सम्झौता भएको हो ।
२०१४ मा, टीपीजी एसियाले युनियन बैंकको ७०.८४ प्रतिशत सेयर ११३ मिलियन अमेरिकी डलरमा किनेको थियो। हाल बैंकको प्रति कित्ता ८ श्रीलंकन रुपैयाँमा किनबेच हुँदैछ।
बैंक कोलम्बो स्टक एक्सचेन्जमा पनि सूचीकृत छ। श्रीलंकन एक्सचेन्जको नियामकको स्वीकृतिको पर्खाइमा दुवै पक्ष बसेका छन्। २०२२ को तेस्रो त्रैमासको तथ्यांक अनुसार बैंकको चुक्ता १६ अर्ब ३३ करोड ४७ लाख ८२ हजार श्रीलंकन रुपैयाँ छ। कुल एक अर्ब ८ करोड ३५ लाख कित्ता सेयर सूचीकृत छ।
अर्थ सन्जाल