लोप हुँदै रैथाने अन्नबाली, बढी उत्पादन हुने अन्नबाली र तरकारी खेतीमा आकर्षण

पछिल्लो समय रैथाने अन्नबाली उत्पादनमा किसानको जागर देखिन छाडेको छ । मेहनतअनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका हुन्।

बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पालगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत रैथानेबाली हराउन थालेको छ । जलवायु परिर्वतनले उत्पादनमा कमी आएसँगै किसानको परमपरागत अन्नबाली खेतीमा आकर्षणसमेत घटेको हो ।

बगनासकाली गाउँपालिका–८, बगनासकी जेम कुमारी हिताङ्ग अहिले कोदो र फापरखेतीमा व्यस्त हुनुहन्छ । पहिला तीन चार मुरी कोदो र फापर उत्पादन हुने गरेकामा अहिले २०÷२५ पाथी मात्र उत्पादन हुन्छ । कोदो, फापरलगायत रैथानेबालीको माग गाउँ तथा सहरी क्षेत्रमा भने बढ्दो छ । तर, उत्पादनमा कमी भए सँगै यी बालीहरु खेती गर्न छाडीएको छ ।

पहिला निकै मेहनतका साथ उत्पादन गरिने भएकाले कोदो, फापरलगायत बाली प्रशस्त उत्पादन हुँदै आएको थियो । मेहनत गर्ने मानिसको अभाव, जलवायु परिर्वतन र शहरीकरणले गर्दा परम्परागत अन्नबाली लोप हुँदै गएको कृषक हिताङ्गको भनाइ छ । कृषि पेशामा युवा जनशक्तिको आकर्षण छैन । समुदायका आश्रित व्यक्तिमा काम गर्ने क्षमता छैन । गोरुले जोत्ने खेतबारीमा अहिले ट्र्याटरबाट खनजोत हुन्छ । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ । परम्परागतरुपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै आएका छन् ।

पुराना अन्नबाली फापर, कोदो, जौ, तिल, भटमास, सिलामलगायत अन्नबाली वर्षेनी सङ्कटमा परेको तानसेन नगरपालिका छापकी नरिसरा गाहाले बताइन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन, बुढापाका पुस्ताका मानिसले मात्र रैथानेबाली कोदो, फापर, गहुँ उत्पादन गरिरहेको उनको भनाइ छ । पछिल्ला वर्ष छिटो आम्दानी दिने उन्नत जातका अन्नबालीप्रति किसानले चासो बढाउन थालेका छन् ।

रैथाने अन्नबालीको उत्पादन वृद्धि प्रोत्साहनको अभावमा लोप हुने अवस्थामा पुगेकाले सरकारले विशेष चासोका साथ बीउ संरक्षण गरी उत्पादन वृद्धिमा चासो दिनुपर्नेमा स्थानीय कमल भण्डारी जोड दिए ।

दश बाह्र वर्षअघिसम्म कोदो र फापरको खेती व्यापक हुन्थ्यो तर अहिले तिनकोे उत्पादनमा कमी भए पनि बजारमा माग भने बढ्दो छ ।

निकै स्वादिलो परिकारका रुपमा कोदाको रोटी र ढिलोलाई लिइन्छ । रैथाने अन्नबालीको उत्पादन बढाउन सके स्वदेशका ठूला होटल तथा विदेशमा समेत निर्यात गर्न सकिनेमा उनि जोड दिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *