

सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध अटो व्यवसायीहरुले बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्नुका साथै शान्तिपूर्ण धर्ना दिएको छ।
अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)को अगुवाइमा अटो व्यवसायीहरुले माइतीघरमा धर्ना दिएका हुन् ।
सरकारले गाडी र मोटरसाइकलको आयातमा लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपनि अटोमोबाइल्स व्यवसायीहरुले आफ्नो आन्दोलन जारी राखेका हुन् ।
प्रदर्शनमा उत्रिएका अटो व्यवसायीहरुले ‘ब्याजदर नियन्त्रण गर’, ‘चालुपुँजी कर्जा मार्गदर्शन खारेज गर’, ‘मौद्रिक नीति परिमार्जन गर’, ‘गरी खान देऊ’, ‘देशमा सरकार त छ ?’, ‘जसले कर तिर्छ, उसैलाई पेल्ने’लगायतका नारा लगाएका थिए।
नाडाले गत मंसिर १६ गते पत्रकार सम्मेलन गरी सरकार र राष्ट्र बैंकको वर्तमान नीतिहरुको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।
नाडाका अध्यक्ष ध्रुब थापाले अटो कर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने, नगद मार्जिनको ब्यवस्था हटाउनु पर्ने, चालु पूँजी कर्जा मार्गदर्शन–२०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सिमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्ने माग यथावत रहेको बताए ।
अर्थ सन्जाल