

पछिल्लो समय प्रतिष्ठित भनिएका धेरै सहकारी संस्थाहरु समस्यामा पर्न थालेका छन् । तरलता अभाव, बढ्दो प्रतिस्पर्धा र नियमनमा कडाइ नहुँदा कतिपय सहकारी डुब्ने अवस्थामा पुगेका छन् । जसका कारण बचतकर्ताको अर्बौ रकम जोखिममा परेको छ ।
ठूला र बलिया भनिएका सहकारीहरु नै समस्यामा पर्दा सहकारीप्रति बचतकर्ताले हेर्ने दृष्टिकोण बदलिएको छ । एक पछि अर्को सहकारी समस्याग्रस्त भएको समाचार बाहिरिँदा बचतकर्ताहरुले धमाधम सहकारीबाट पैसा निकाल्न थालेका छन् । यसले गर्दा सहकारीमा झनै समस्या देखिन थालेको छ । केही सहकारी त सञ्चालकहरुको मनोमानीका कारण समस्याउन्मुख भइरहेका छन् ।
कुमारी सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड पनि अहिले समस्याग्रत बनेको छ । काठमाडौंको चावहिलस्थित मित्रपार्क स्थित यस सहकारीको अध्यक्ष तथा सीईओको मनोमानीका कारण जोखिममा परेको हो । उक्त सहकारीले करिब १ अर्ब लगानी गरेको छ । तथापी उक्त लगानीमध्ये अधिकांश रकम सहकारीका अध्यक्षअन्तर्गत रहेको छ । कुमारी सहकारीको अध्यक्ष र सिइओ दुवै पदमा सूर्यध्वज न्यौपाने छन् । संस्थाको दुई प्रमुख पदमा एकै व्यक्ति बस्न नपाउने व्यवस्था व्यवस्था भए पनि उनी दुवै पद आफैले सम्हालेका छन् ।
स्रोतका अनुसार उनले सहकारीको अधिकांश रकम घर तथा जग्गामा आफैले लगानी गरेका छन् । हाल रकम अभावका कारण सदस्यहरुलाई कर्जा प्रवाह गर्न नसकेको उक्त सहकारीले बचतकर्ताको बचत समेत भुक्तानी गर्न सकेको छैन । अध्यक्ष आफैँ सीईओ भएका कारण कर्जा प्रवाहमा उनको एकलौटी भूमिका रहने गरेको छ । एक संचालकले बताए अनुसार अध्यक्षको मनोमानीका कारण निक्षेप कर्ताको रकम भुक्तानी गर्न नसक्ने अवस्था सृजना भएको हो ।
कर्जा प्रवाह अत्याधिक देखिए पनि सिमित व्यक्तिमा मात्रै कर्जा प्रवाह भएको छ । त्यसो त सहकारीको प्रतिवेदनमा उल्लेख गरिए अनुसार रकम बचतका लागि आठ हजार ३ सय ८७ जना सदस्य बनाएको सहकारीले हालसम्म जम्मा ५ सय ८२ जनालाई मात्रै कर्जा उपलव्ध गराएको आफ्नै प्रतिवेदनका उल्लेख गरेको छ । सो रकम मध्ये अधिकांश रकम अध्यक्ष स्वयमले परिचालन गरेका छन् ।
संस्थाका अध्यक्ष एवं सीईओ न्यौपाने आफैले कर्जा निकाल्ने र कर्जा भूक्तानी नगर्ने गरेकाले सहकारी डरलाग्दो अबस्थातिर धकेलीएको बताईएको छ । संस्थाको सिइओ र अध्यक्षका रुपमा एकै व्यक्ति भएका कारण कुनै रोकतोक नहुने भएकोले उनी स्वयमले धेरै कर्जा निकालेका हुन् । विगत लामो समयदेखिनै कर्जा दिन नसक्ने भन्दै कर्जा बन्द गर्दै आएको सो सहकारीमा करिव ७ सय बढी सदस्यहरुले कर्जा माग गर्दै निवेदन दिएका छन् ।
उनीहरुले एकलाख देखि पचास लाखसम्म कर्जा माग गरेका छन् । केही सदस्यहरुले पर्याप्त मात्रामा सहकारीमा रकम राखेको र आफ्नै रकम निकाल्न समेत नदिएको गुनासो गरेका छन् । संस्थाले हाल नगद अभाव भएको उल्लेख गर्दै सदस्यहरुलाई कर्जा प्रवाह गर्नका रोक लगाइएको बताउँदै आएको छ । सहकारीमा संचालक मध्येका अध्यक्ष र सिइओ एकै व्यक्ति भएका कारण उनले एकलौटी तरीकाबाट कर्जाका रुपमा रकम निकाल्ने गरेको अधिकांश बचतकर्ताको गुनासो छ ।
करिव ७५ प्रतिशत रकम सहकारीका अध्यक्ष स्वयमले प्रयोग गरेका छन् । सहकारी विभागले अघिल्लो बर्षनै सहकारी नियमनका क्रममा एकै व्यक्ति अध्यक्ष र सिइओ हुन् नपाउने प्रावधान ल्याएको थियो । तर उक्त सहकारी भने सहकारी विभागको निर्देशन विपरीत अध्यक्ष र सिइओ एकै व्यक्ति भएर संचालन हुँदै आएको छ । यस बारेमा अध्यक्ष तथा सिइओ न्यौपानेले आफ्नो लगानी धेरै भएका कारण आफ्नै कामर्यकारी व्यक्ति भएको बताउँदै आएका छन् । आन्तरिक बैठकहरुमा यो विषय पटक पटक उठेको भएपनि अध्यक्षले मनोमानी रुपमा आफै सबै काम गर्दै आएको सेयर सदस्यहरु बताउँछन् ।
काठमाडौंको चावहिलमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले अन्य ५ वटा सदस्य सेवा स्थापना गरी वित्तीय कारोबार संचालन गरिरहेको छ । कुमारी सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. मा न्यौपाने अध्यक्ष तथा सिइओ छन् भने उपाध्यक्ष राजु दाहाल, सचिवमा इश्वरी प्रसाद भट्टराई, कोषाध्यक्ष पुष्पराज घिमिरे तथा बोर्ड सदस्यहरुमा सकुन्तला खड्का, सरिता तामाङ र अनिता अधिकारी रहेका छन् ।
हालसम्म १ अर्ब ४६ करोड १९ लाख ९३ हजार २ सय ३२ रुपैयाँ निक्षेप जम्मा गरेको सहकारीले १ अर्ब ३१ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।
समस्याग्रस्त बनेपछि कर्जा लगानी गर्न गर्न छोडेको स्वीकार गरेको सहकारीले सस्था समस्याग्रस्त बनेको विषयलाई भने अस्वीकार गरेको छ ।
अर्थ सन्जाल