माघ १ अर्थात शनिवारदेखि मोबाइल कलको शुल्क ४४ पैसाले घटेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क कम गर्नेगरी कार्यान्वयनमा ल्याएको ‘अन्तरआवद्धता निर्देशिका २०७६’ शनिवारबाट लागू भएको हो ।
योसँगै एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा सेवाप्रदायकले हाल लिँदै आएको शुल्कको तुलनामा ४४ पैसा सस्तो भएको छ । यसको अर्थ एउटा नेटवर्कबाट अर्को नेटवर्कमा ९उदाहरणका लागि एनसेलबाट नेपाल टेलिकमको नम्बरमा कल गर्दा लाग्ने शुल्क ४४ पैसाले घटेको हो ।
यसअघि सेवाप्रदायकले अन्तरआवद्धता शुल्कबापत प्रतिमिनेट ५४ पैसा थप लिँदै आएका छन् । निर्देशिकाले त्यसमा परिवर्तन गर्दै त्यस्तो शुल्क बढीमा १० पैसा कायम गरेको छ ।
सो निर्देशिका माघ १ गतेदेखि कार्यान्वयनमा ल्याउन गएको कात्तिक २९ गते बसेको प्राधिकरण बोर्ड बैठकले निर्णय गरेको थियो । तत्कालका लागि आन्तरिक कलमा मात्रै यो व्यवस्था लागू हुने गरी गरिएको यो व्यवस्थाले एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्कलाई कम गर्नेछ ।
यसअघि नेपाल टेलिकमको प्रिपेड सिमबाट अन्य नेटवर्कमा कल गर्दा प्रतिमिनेट दुई रुपैयाँ लाग्छ भने पोस्टपेडबाट कल गर्दा एक रुपैयाँ ५० लाग्दै आएको थियो ।