

आमनिर्वाचनमा पाएका समानुपातिकतर्फको मतका आधारमा हालसम्म सातवटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएका छन् । निर्वाचन आयोगका अनुसार आज (शुक्रबार) अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता पाएका हुन् ।
आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले ती दलले राष्ट्रिय दलको मान्यता पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएको जानकारी दिए । तर, अझै दोलखा, बाजुरा र स्याङजा जिल्लामा भने मतगणना जारी रहेकाले अन्तिम मत परिणाम आउन बाँकी नै छ । आयोगले मंसिर २० गतेभित्र समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मत संख्या निर्क्योल भइसक्ने अनुमान गरेको छ ।
दलहरूले पाएको मत संख्या अनुसार उनीहरूले बन्द सूचीमा पठाएका समानुपातिक सांसदहरू निर्वाचित हुनेछन् । त्यसका लागि आयोगले दलहरूले प्राप्त गरेको संख्या पठाउने र दलहरूले आफूले बन्द सूचीमा पेश गरेका नामावलीको क्रमसंख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन् । त्यसो गर्दा एक तिहाइ महिलाहरूको संख्या भने राजनीतिक दलहरूले पठाउनैपर्ने कानुनी व्यवस्था रहेको आयोगका प्रवक्ता वाग्लेले बताए ।
एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने सम्भावना न्यून
पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको भने राष्ट्रिय पार्टी बन्ने सम्भावना न्यून देखिएको छ । यो पार्टीले हालसम्म २ लाख ९४ हजार ६३ मत पाएको छ । तर, ऊ थोरै मतले राष्ट्रिय पार्टी बन्नबाट चुक्ने सम्भावना बढेको छ ।
राष्ट्रिय दल बन्नका लागि समानुपातिकतर्फ खसेको कूल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ । त्यसका लागि एकीकृत समाजवादीले तीन लाखभन्दा केही बढी मत ल्याउनुपर्छ ।
अर्थ सन्जाल