

मंसिर पहिलो साता व्यतित भइसक्दा नेप्सेमा सूचीकृत ३४ कम्पनीहरुले मात्र गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेका छन् । यस वर्ष बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्न ढिलाई गरिरहेका छन् ।
हालसम्म आइपुग्दा ११ वटा वाणिज्य बैंक, ६ हाइड्रोपावर, ५ उत्पादनमूलक कम्पनी, ३ विकास बैंक, २ वटा लघुवित्त र ५ वटा निर्जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । त्यसैगरी, होटल र इन्भेष्टमेन्ट समूहअन्तर्गत एक–एक वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।
जसमध्ये कतिपयले साधारणसभा गरेर लाभांश प्रस्ताव पारित समेत गरिसकेका छन् । केहीले लाभांश प्रस्ताव पारित गर्न साधारणसभा मिति सार्वजनिक गरेका छन् भने केही साधारणसभा बोलाउने तर्खरमा छन् ।
गत वर्षको मुनाफाबाट प्रतिफल घोषणा गर्न बाँकी अन्य कम्पनीहरुले पनि आन्तरिक तयारीमा जुटेका छन् ।
राष्ट्र बैंकका अनुसार २०७९ असोज मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४२ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ५९ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । मंसिर दोस्रो साता लागिसक्दा पनि हालसम्म ३४ कम्पनीले मात्र लाभांश घोषणा गरेका हुन् । सूचीकृत कम्पनीहरुले पुस मसान्तसम्म साधारण सभा सम्पन्न गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
कम्पनी ऐन तथा राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्ने हुन्छ ।
कुनको लाभांश कति ?
बैंक अफ काठमान्डूको सबैभन्दा धेरै
हालसम्म ११ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । जसमध्ये सिटिजन्स बैंक, एनसीसी र कुमारी बैंकले साधारण सभा सम्पन्न गरेर लाभांश प्रस्ताव पनि पारित गरिसकेका छन् । मेगा, प्रभु र नेपाल इन्भेष्मेन्ट बैंकले भने अझै साधारणसभा बोलाएका छैनन् ।
अहिलेसम्ममा सबैभन्दा धेरै बैंक अफ काठमान्डूले २०.९५ प्रतिशत लाभांश घोषणा गरेको छ । यसले ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद वितरण गर्न लागेको हो ।
त्यसैगरी, एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २०.६८ प्रतिशत लाभांश (१३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा ३ प्रतिशत बोनस सेयर र करसहित १०.६ प्रतिशत नगद लाभांश छन् ।
कुमारी बैंकले गत आर्थिक वर्षका लागि १२.५० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।
एनसीसी बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरिसकेको छ । बैंकले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद वितरण गर्ने भएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकले ४ प्रतिशत बोनस सेयर ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
मेगा बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सानिमा बैंकले १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न पुस ३ गते साधारणसभा आह्वान गरेको छ ।
प्रभु बैंकले ६.५ प्रतिशत बोनस र १.५० नगद लाभांश सहित कुल ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
त्यस्तै, सिटिजन्स बैंकले ९ प्रतिशत लाभांश वितरण साधारणसभाबाट पारित गरिसकेको छ ।
यी बाहेक अन्य बैंकले भने हालसम्म लाभांश प्रस्ताव गरेका छैनन् ।
३ विकास बैंकको लाभांश प्रस्ताव
यस अवधिसम्म ३ वटा विकास बैंकले लाभांश घोषणा गरेका छन् ।
गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै, शाइन रेसंगुा डेभलपमेन्ट बैंकले १३.३० बोनस सेयर र ०.७० नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लुम्बिनी विकास बैंकले ३ प्रतिशत बोनस सेयर र ९ प्रतिशत नगद लाभांश (करसहित) कुल १२ प्रतिशत घोषणा गरेका छन् ।
यी ३ वटै बैंकले साधारणसभाको मिति भने तय गरेका छैनन् ।
रिडी पावरको सबैभन्दा धेरै
हालसम्म ६ वटा हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश प्रस्ताव गरेका छन् । जसमा रिडी पावर कम्पनीले सर्वाधिक लाभांश घोषणा गरेको छ । रिडीले ४० प्रतिशत बोनस सेयर र २.१ प्रतिशत नगद लाभांश दिने भएको छ ।
सानिमा माई हाइड्रोपावरको ५.२६ प्रतिशत, रु रु जलविद्युतको १० प्रतिशत बोनस र ०.५३ प्रतिशत गरी कुल १०.५३ प्रतिशत र अरुण काबेलीको १० प्रतिशत बोनस सेयर भने साधारणसभाबाट पारित समेत भइसकेका छन् ।
युनाइटेड इदी मर्दी हाइड्रोपावरले गत आर्थिक वर्षका लागि १०.५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न मंसिर २८ गत साधारणसभा आह्वान गरेको छ ।
माउण्टेन इनर्जीले १०.५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ लाभांश पारित गर्न कम्पनीले पुस ८ गते साधारणसभा बोलाएको छ ।
उत्पादन तथा प्रशोधन समूह
उत्पादन तथा प्रशोधन समूहअन्तर्गत ५ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।
नेपाल ल्यूब आयलले २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश साधारणसभाबाट पारित भइसकेको छ ।
युनिलिभर नेपाल लिमिटेडले १,२१५ प्रतिशत नगद लाभांश प्रस्तावसहित मंसिर २० गते साधारणसभा बोलाएको छ ।
त्यस्तै, बोटलर्स नेपाल तराईले ६० प्रतिशत र बोटलर्स नेपाल बालाजुले २० प्रतिशत नगद लाभांश लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
हिमालयन डिस्टिलरीले ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश घोषणा गरेको छ । हिमालयन डिस्टिलरीले भने साधारणसभाको मिति तय गरेको छैन ।
५ निर्जीवन बीमा कम्पनी
गत वर्षको नाफाबाट ५ निर्जीवन बिमा कम्पनीले लाभांश घोषणा गरेका छन् । सबैभन्दा धेरै प्रिमियर इन्स्योरेन्सले सबैभन्दा धेरै ५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी जम्मा १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्सले ९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
नेपाल इन्स्योरेन्सले ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गरेको छ ।
आईएमई जनरल इन्स्योरेन्सले ६.५० प्रतिशत बोनस र ०.३४ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी ६.८४ प्रतिशत लाभांश प्रस्ताव गर्दा युनाइटेड इन्स्योरेन्सले ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
यिनीहरुले साधारण सभा हुने मिति भने सार्वजनिक गरेका छैनन् ।
लघुवित्त समूह
लघुवित्त समूहअन्तर्गत २ वटा कम्पनीले मात्र लाभांश घोषणा गरेका छन् । जाल्पा लघुवित्तले ७३ प्रतिशत बोनस र ३.८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
त्यसैगरी, आरएसडीसी लघुवित्तले कुल ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
इन्भेष्टमेन्ट समूह
हालसम्म इन्भेष्टमेन्ट समूह अन्तर्गत नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले मात्र गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । यसले गत वर्षको नाफाबाट करसहित ४.२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । उक्त लाभांश साधारणसभाबाट पारित भइसकेको छ ।
होटल तथा टुरिजम समूह
होटल तथा टुरिजम समूह अन्तर्गत सोल्टी होटलले मात्र लाभांश घोषणा गरेको छ । यसले गत वर्षको नाफाबाट २१.३१ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरी कुल २६.३१ प्रतिशत लाभांश घोषणा गरेको छ ।
अर्थ सन्जाल