

उपाधि दाबेदार अर्जेन्टिनाले करतामा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ । मंगलबार भएको खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुआत गरेको हो ।
लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । साउदीले अर्जेन्टिनाविरुद्ध निकालेको यो पहिलो जित हो ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो । खेलको २८ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरेपनि मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए ।
तर, दोस्रो हाफमा साउदीले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २–१ को जित दिलाए ।
यस जितसँगै समूह ‘सी’ को साउदीले पहिलो खेलमै ३ अंक जोडेको छ । साउदी समूहको शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिना पुछारमा रहेको छ ।
अर्थ सन्जाल