फलामे छडको मूल्य ४ रुपैंयाँ घटाउन संघको निर्देशन, उद्योगीहरुको आपत्ति

नेपाल फलामे छड उत्पादक संघले प्रतिकेजी ४ रुपैंयाँ मूल्य घटाएर छड बिक्री गर्न उद्योगीहरुलाई अनुरोध गरेको छ । संघका अध्यक्ष साहिल अग्रवालले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी सरकारले ल्याएको बजेटको प्रावधान अनुसार फलामे छडको मूल्य घटाउन अनुरोध गरेका हुन् ।

सरकारले बजेटमार्फत स्पन्ज आइरनमा दिएको भन्सार छूट तथा स्थानीय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्थाको स्वागत गर्दै यस व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी ४ रुपैयाँले घट्न जाने संघको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘नेपाल सरकारले २५ भाद्र २०७८ मा ल्याएको बजेटबाट स्पन्ज आइरनमा भएको भन्सार छूट तथा स्थानीय फलामे उत्पादनमा अन्तःशुल्क नलाग्ने व्यवस्थाको यस संघ स्वागत गर्दछ । यस व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी ४ रुपैयाँले घट्न जाने जानकारी गराउँदछौँ । बजेट पछिका तीन हप्तामा अन्तर्राष्ट्रिय बजारमा फलामे छडको कच्चा पदार्थ विलेट तथा विलेटको कच्चा पदार्थ स्पन्ज आइरनमा १२ प्रतिशत भन्दा बढीले मूल्य वृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रति केजी ४ रुपैयाँ घटाई फलामे छड बिक्री वितरण गर्नुहुन सम्पूर्ण उद्योगीहरूलाई अनुरोध गर्दछौं ।’

तर संघले जारी गरेको विज्ञप्तिप्रति उद्योगीहरुले आपत्ति जनाएका छन् । सरकारले भन्सार दर बढाएपछि बाध्य भएर मूल्य बढाउनुपर्ने अवस्था आएको भन्दै उद्योगीहरूले प्रतिकिलो ४ रुपैयाँले फलामे डन्डीको मूल्य बढाएका थिए । जसका कारण उद्योगी र संघबीच विवाद सिर्जना भएको छ । संघले छडको मूल्य घटाउन अनुरोध गरेको छ भने उद्योगीहरुले मूल्य बढाएको सार्वजनिक गरेका छन् । यस विषयमा संघ र उद्योगीहरुबीच छलफल भइरहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *