

यही मंसिर ४ गते आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न देशभर विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लगातार बम विष्फोट गराउने र कुकर बम राखेर त्रसित गराउन थालेपछि देशभर ‘बम डिस्पोजल’ टोली परिचालन गरिएको छ ।
गृह मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सचिव विनोदप्रकाश सिंहले निर्वाचनलाई प्रभावित पार्ने गरी राखिएका बम डिस्पोज गर्न ९०३ वटा सेनाको ‘बम डिस्पोजल टोली’ परिचालन गरिएको जानकारी दिए । उनका अनुसार आवश्यक परे थप टोली पनि परिचालित हुने छन् । सेनाले पनि बम निष्क्रिय गर्नसक्ने थप १५० टिम तयारी अवस्थामा रहेको बताएको छ ।
गृहसचिव सिंहले नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह, सशस्त्रका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई सँगै राखेर पत्रकार सम्मेलन गरेका थिए । कार्यक्रममा सचिव सिंहले मतदाता, कर्मचारी र उम्मेदवारको सुरक्षामा खतरा उत्पन्न गराउन खोजेमा सह्य नहुने बताए ।
अर्थ सन्जाल